दुई हजार शय्याको क्वारेन्टिन शीघ्र बनाइँदै


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ १५, २०७७

  • काठमाडौँ, १५ भदौ । सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थाका साथै उपचारका निम्ति काठमाडौँ उपत्यकामा २००० शय्याको बेग्लै स्थान (क्वारेन्टिन)  निर्माण गर्ने निर्णय गरेको छ ।

    कोरोनाका शङ्कास्पद बिरामी र स्वदेश विदेशको यात्रा गरेका विशेष ध्यानदिनुपर्ने व्यक्तिलाई बेग्लै राखेर निगरानी तथा उपचारको व्यवस्था गर्ने उक्त स्थल निर्माणको जिम्मेवारी सहरी विकास मन्त्राललाई दिइएको छ ।

    मन्त्रिपरिषद्को आइतबारको बैठकले वर्तमान परिस्थितिलाई दृष्टिगत गरी चाँडोभन्दा चाँडो निर्माण पूरा गर्न उक्त मन्त्रालयलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ अनुसार आवश्यक सामग्री खरिद गर्ने अनुमति दिएको छ ।

    बहराइनका राजकुमारलाई लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति

    मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले यही भदौ ३० गतेपछि बहराइनका राजकुमारसहित १५ जना उक्त देशका नागरिक र तीनजना बेलायती गरी १८ जनाको टोलीलाई लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति दिइएको बताए । ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नेगरी उक्त टोलीलाई विशेष विमान ९चार्टर फ्लाइट० बाट नेपाल आउन अनुमति दिइएको छ,’ उनले भने ।

    संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरुपमा १० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौँबाटै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए ।

    सरकारले श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गर्ने तथा सहसचिवद्वय नवराज ढकाल र उदयबहादुर रानामगरलाई क्रमशः ल्हासा र हङकङमा नेपाली महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

    यसैगरी नेपाली सेनाका सहायक रथी विनयविक्रम राणालाई उपरथीमा बढुवा गरिएको छ भने सहायक रथी अरुणकुमार पालको राजीनमा स्वीकृत भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार