
काठमाडौँ, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको विघटनपछि उत्पन्न परिस्थिति कुनै संवैधानिक प्रश्न नभई सत्ता र शक्ति सङ्घर्ष भएको टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभयो, “मुलुकको अहिलेको अवस्था आउनु भनेको हालको नेतृत्व असफल भएको घटनाका रूपमा लिएका छौँ ।
विश्वासको मतको पक्ष र विपक्षमा नरही राप्रपा तटस्थ रहनेछ ।” प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले राख्नुभएको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका दुर्गा पौडलले अदालतले दिएको आदेश, संविधानको मर्म र भावना तथा विगतको सरकारका कमी कमजोरीबाट शिक्षा लिएर राम्रा काम गर्न सरकारलाई सुझावका साथ पक्षमा मतदान गर्ने निर्णय सुनाउनुभयो ।
नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले जनता र मजदूरको हितमा ठूला दलले काम नगरेकाले पक्ष वा विपक्ष मतदान नगरी तटस्थ रहेको प्रतिक्रिया दिनुभयो ।