निजी क्षेत्रको एजेण्डामा महासङ्घ र परिसङ्घबीच सहकार्य गरिने


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर १८, २०७७

  • काठमाडौँ, १८ मङ्सिर । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई नेपाल उद्योग परिसङ्घले स्वागत तथा बधाई ज्ञापन गरेको छ । परिसङ्घको कार्यालयमा आज आयोजित कार्यक्रममा महासङ्घका पदाधिकारीलाई परिसङ्घका पदाधिकारीले बधाई तथा शुभकामना प्रदान गर्दै कार्यकाल सफलताको कामना गरेको हो । कार्यक्रममा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रका दुई सशक्त संस्थाबीच विगतदेखि नै विभिन्न आयामबाट सहकार्य रहँदै आएको स्पष्ट पार्नुभयो ।

    उहाँले नयाँ कार्यसमितिसँग महासङ्घसँगको सहकार्यलाई थप सुदृढ र मजबूत बनाउनु आजको प्रमुख आवश्यकता भएको बताउनुभयो । कार्यक्रममा महासङ्घका अध्यक्ष शेखर गोल्छाले राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका र योगदानको उजागर गर्दै समस्या उस्तै प्रकारका भए पनि कतिपय अवस्थामा उद्योगको वर्गीकरण र क्षमताका आधारमा समस्या फरक पर्ने भएकाले मध्यमार्गी बाटो अपनाइ एकताबद्ध भएर जानुपर्ने बताउनुभयो ।

    उद्योग व्यवसायको प्रवद्र्धन र विकासमा सहकार्य नै पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले विगतमा पनि परिसङ्घसँग सहकार्य गर्दै आएको स्मरण गर्नुभयो । आर्थिक पुनःउत्थान तथा औद्योगिक विकासको साझा एजेण्डामा परिसङ्घ र महासङ्घ मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले निजी क्षेत्रका संस्था प्रतिस्पर्धीभन्दा साझेदारका रुपमा भएकाले यही क्षेत्रबाटै समृद्धि सम्भव रहेको बताउनुभयो ।

    कार्यक्रममा परिसङ्घकोतर्फबाट परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालसहित उपाध्यक्ष सुलभ अग्रवाल, कृष्णप्रसाद अधिकारी, राजेश अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो । महासङ्घका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र सङ्घाइ र कोषाध्यक्ष सुकुन्तलाल हिराचनलगायत सहभागी हुनुहुन्थ्यो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट