टीकापुर । कैलालीको जानकी गाउँपालिकाले आठौँ गाउँसभाबाट रु ७९ करोड तीन लाख पाँच हजारको अनुमानित बजेट ल्याएको छ । गाउँपालिकाको आठौँ गाउँसभामा आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेट सर्वसम्मत पारित भएको हो ।
सभामा गाउँपालिका उपाध्यक्ष उमा महतोले सङ्घीय, वित्तीय, समानीकरण अनुदानबाट रु १५ करोड एक लाख, सङ्घीय राजश्व बाँडफाँट आयबाट रु १० करोड एक लाख ४० हजार, सङ्घीय सःर्शत अनुदानबाट रु २१ करोड ५३ लाख, सङ्घीय समपूरक अनुदानबाट रु दुई करोड ६३ लाख, सङ्घीय विशेष अनुदानबाट रु दुई करोड ४९ लाख बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो । त्यस्तै उहाँले प्रदेश समानीकरण अनुदानबाट रु एक करोड नौ लाख ७४ हजार, प्रदेश राजश्व बाँडफाँटबाट रु ८१ लाख, प्रदेश विशेष अनुदानबाट रु ३० लाख, आन्तरिक स्रोतबाट रु पाँच करोड ३८ लाख ३५ हजार र चालु आवमा खर्च नभई बचत रहेको राजश्व रकम रु १५ करोड आय प्राप्त हुने अनुमान प्रस्तुत गर्नुभएको छ ।
यसैगरी चालु खर्चतर्फ रु ४५ करोड २२ लाख ९१ हजार ५२१ र पूँजीगत खर्चतर्फ रु ३३ करोड ८० लाख १३ हजार ४४८ रहेको छ । गाउँसभाले जनसङ्ख्या, भूगोल र राजश्वका आधारमा वडागत बजेट विनियोजन गरेको छ । कृषिमा रु एक करोड, स्वास्थ्यमा रु एक करोड, पशु सेवामा रु ७० लाख, शिक्षामा रु ६० लाख, विपद् व्यवस्थापनका लागि रु १० लाख र महिला विकासका लागि रु ३० लाख विनियोजन गरिएको छ ।