समाजवाद स्थापनाको कार्यभार पूरा गर्नेगरी लागौँ : नेता पुन


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, भदौ १३, २०७८

  • काठमाडौँ, १३ भदौ । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनले पार्टीले लिएको समाजवाद स्थापनाको कार्यभारलाई पूरा गर्ने गरी अगाडि बढ्न युवालाई आग्रह गर्नुभएको छ । वाईसीएल नेपालको जारी राष्ट्रिय भेलाको सम्बन्धमा आज आयोजित बन्दसत्रलाई सम्बोधन गर्दै उहाँले आर्थिक विकास सहितको समाजवादी यात्राका लागि युवाले नै नेतृत्व गर्ने भएकाले सोही अनुसारको कार्ययोजना र त्यसको कार्यान्वयन जरुरी रहेको बताउनुभयो ।

    राजनीतिक परिवर्तनलाई स्थायी बनाउँदै देश र जनताको आवश्यकतालाई परिपूर्ति गर्ने गरी युवाले अब हरेक क्षेत्रमा पहलकदमी लिनुपर्ने उहाँको भनाइ थियो । वाईसीएलको श्रव्य दृश्यका माध्यमबाट जारी राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्र जारी रहेको प्रचार विभाग प्रमुख पुष्प ओलीले जानकारी दिनुभयो । बन्दसत्रमा राजनीतिक, आर्थिक प्रतिवेदनको छलफल गरी सर्वसम्मतिले पारित गरेको छ । भेलामा अध्यक्ष रामप्रसाद सापकोटाद्वारा प्रस्तुत प्रतिवेदन परिमार्जित भई पारित गरिएको हो ।

    समृद्धि, उत्पादन र विकास केन्द्रित रहेर हालसम्मका उपलब्धिको रक्षा गर्दै सङ्गठनलाई नयाँ प्रणालीमार्फत डिजिटलाइज गर्दै जनजीवनको उत्थान गरी समाजवादी बाटोमा अगाडि बढ्ने निष्कर्ष प्रतिवेदनको रहेको छ । बन्दसत्रले २३१ सदस्यीय केन्द्रीय समिति, ३५ सदस्यीय पदाधिकारी र तीनवटा केन्द्रीय आयोग निर्माण गर्ने भएको छ । वाईसीएलले राष्ट्रिय भेलाबाट सहमतिमा नै नेतृत्व चयन गर्ने भएको छ ।

    अध्यक्ष सापकोटाले अध्यक्षबाट हट्ने निर्णय गरिसक्नुभएको छ । उहाँले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भन्दै नयाँ नेतृत्वसमेत सहमतिमा चयन गर्नुपर्नेमा जोड दिनुभयो । उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुबोध श्रीपालीले अध्यक्षमा इच्छा व्यक्त गर्नुभएको छ । छलफलका आधारमा सोमबार नेतृत्व चयन हुने वाईसीएलले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार