विषालु च्याउ खाँदा एकै परिवारका पाँच बिरामी


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, बैशाख २३, २०७७

  • चितवन, २३ वैशाख । वनबाट ल्याएको विषालु च्याउ खाँदा देवघाट गाउँपालिकाका एकै परिवारका पाँच जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिरामी हुनेमा देवघाट गाउँपालिका–५ का ४२ वर्षीय कृष्णबहादुर भुजेल, उहाँको श्रीमती ४० वर्षीया गौरीमाया, छोरा २१ वर्षीय तीर्थबहादुर, १७ वर्षीय मीनबहादुर र १५ वर्षीय धनलाल रहेका छन् ।

    उहाँहरु सोमबार बिहान घर नजिकैको वनबाट ल्याएको च्याउ खाँदा बिरामी पर्नुभएको थियो । बिरामी परेपछि उनीहरुलाई सोमबार दिउँसो उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । बिरामीहरुमध्ये कृष्णबहादुर र धनलाल गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    गम्भीर बिरामीको पुरानो मेडिकल कलेजमा सघन उपचारकक्षमा उपचार भइरहेको छ भने अन्यको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यसअघि शनिबार र आइतबार जिल्लामा १२ जना विषालु च्याउ खाँदा बिरामी परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार