जेसिजले चार क्षेत्रमा तालिम प्रतिष्ठान स्थापना गर्ने


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस २४, २०७७

  • चितवन, २४ पुस (रासस) : नेपाल जेसिजका अध्यक्ष अरुणेश्वर खनालले देशका चारवटै क्षेत्रमा तालिम प्रतिष्ठान स्थापना गरिने बताउनुभएको छ । जनवरी १ तारिखमा कार्यभार सम्हालेपछि गृहजिल्ला आउनुभएका खनालले पत्रकारहरुसँग कुरा गर्दै आफ्नो कार्यकालमा तालिमलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । नेतृत्व, व्यक्तित्व र क्षमता विकासलाई महत्व दिएर अगाडि बढ्ने बताउँदै उहाँले भन्नुभयो, “मैले आगामी वर्ष जेसिजमा तालिमलाई नै प्रमुख स्थान दिनेछु ।”

    आफूले सहज तवरले तालिम प्रदान गर्ने वातावरण तयार पार्ने उहाँको भनाइ थियो । जेसिज आफँैमा एउटा तालिम प्रदायक संस्था भएको बताउँदै उहाँले भन्नुभयो, “मेरो कार्यकालमा तालिमलाई अझै सर्वसुलभ बनाउने प्रयास हुनेछ ।” जेसिजले मानवताको कार्यलाई आफ्नो आर्दश ठान्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हाम्रो आस्था हेर्नुहोस्, समाज रूपान्तरणका लागि जेसिजले सबै काम गर्दै आइरहेको छ ।” निरंकुश र कहालीलाग्दो शासन व्यवस्था भएका बेलामा पनि जेसिजले आफ्नो सिद्धान्तसँग कहिल्यै सम्झौता नगरेको भन्दै खनालले जेसिजले विधिको शासन नै मुलुकका लागि चाहिन्छ भनेर वकालत गर्ने गरेको बताउनुभयो ।

    जेसिज सधैँ लोकतन्त्रको पक्षमा रहेकामा जोड दिँदै उहाँले भन्नुभयो, “हामी व्यक्तिको शासन मान्दैनाँै, विधिको शासनका पक्षपाती हौँ, कहीँकतै शासनमा व्यक्ति हावी भए र विधि मिचियो भने जेसिजले देशभर विधिको शासनका पक्षमा वकालत गर्छ ।” जेसिजमा राजनीतिक आस्थाले केही फरक नपार्ने बताउँदैै उहाँले जेसिज राजनीति गर्ने थलो नभएकोे प्रष्ट्याउनुभयो । ‘परिवर्तनका लागि उठौँ, मानव विकासका नेतृत्वका अभ्यासहरु देशभरि’ भन्ने प्रकरणका साथ आफू लागेको उहाँले बताउनुभयो । राष्ट्रिय अध्यक्षको यही प्रकरणमा केन्द्रित रहेर देशभरका जेसिजकर्मीले काम गर्ने उहाँको भनाइ छ ।

    देशभरमा २० हजारभन्दा बढी सङ्ख्यामा जेसिजका सदस्य छन्् । सन् २००४ देखि जेसिज अभियानमा लागेका खनाल सन् २०१० मा २० हजार जेसिज भरतपुर चितवन शाखा अध्यक्ष, सन् २०१२ मा राष्ट्रिय उपाध्यक्ष, सन् २०१३ मा राष्ट्रिय महासचिव र सन् २०१६ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भई सन् २०२१ का लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार