गठबन्धन बैठक : मन्त्रिपरिषद् विस्तारबारे छलफल


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज २१, २०७८

  • काठमाडौँ, २१ । प्रमुख सत्ता साझेदार दलले मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल केन्द्रित गरेको बताइएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीचमा मन्त्रिपरिषद् विस्तार गर्ने सम्बन्धमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

    बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपस्थित हुनुहुन्थ्यो । त्यस्तै नेकपा (एकीकृत समाजवादी) कोे स्थायी कमिटीको बैठक जारी छ । सोही बैठकले मन्त्रिपरिषद्मा सहभागी हुनेको नामावली चयन गर्ने बताइएको छ । जसपा पनि आन्तरिक छलफलमा रहेको छ ।

    माओवादीले बुधबार नै मन्त्रिपरिषद्मा सहभागी हुनेको नामावली टुङ्गो लगाइसकेको छ । माओवादीले देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादवलाई मन्त्रिमण्डलमा पठाउने निर्णय गरिसकेको छ । अन्य दलकोतर्फबाट पनि आवश्यक निर्णय गरेर नामावली प्राप्त भएपछि सम्भवतः शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट