‘कदम पुरस्कार २०७९’ बाट कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन सम्मानित


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, बैशाख २७, २०७९

  • ललितपुर, २७ बैशाख। जोशी रिसर्च इन्ष्टिच्युट्को आयोजनामा सम्पन्न ‘कदम पुरस्कार २०७९’ बाट कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन सम्मानित भएकी छन् । घरगृहस्थी, पर्यटन पत्रकारितादेखि सगरमाथाको टाकुरासम्म पुगेर नेपाली समाजमा नारीको पहिचान अन्तरास्ट्रियस्तरमा पुयाउन सफल महर्जनको सफल कदमप्रतिको सम्मानस्वरुप उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

    पूर्व उपप्रधानमन्त्री तथा सांसद प्रकाशमान सिंहले महर्जनलाई दोसल्ला ओढाइ, ताम्र–सम्मानपत्र र रू २५ हजार नगदसहित उक्त पुरस्कारबाट सम्मानित गरिएको हो । कार्यक्रममा सिंहले नेपाली समाजको बिकासमा महिलाको इच्छाशक्ति सबल रहेमा पत्रकारिता, साहसिक पर्यटनलगायत अन्य क्षेत्रमा पनि पुरुषभन्दा बढी गुणस्तरीय कार्यमा प्रेरणा बन्न सक्छिन् भन्ने उदाहरण कल्पना महर्जन बनेको बताए । उनले राज्यबाहेक समाजबाट पनि सम्मानित हुनुले अझ अर्थपूर्ण हौसला प्राप्त हुने बताए ।

    सम्मान ग्रहण गर्दै कीर्तिमानी कल्पनाले पर्यटन पत्रकारिता दौरान संस्कृतिविद जोशीको सामिप्यता आभास पाएको बताउँदै सगरमाथा आरोहणको आँट गर्दादेखि नै हरिराम बा हर्षित भएको बताइन् । आफूले हासिल गरेको सफलताको कडीमा परिवार, अग्रजहरुको आशिर्वादसँगै दोस्रो पटकको आरोहण प्रयासदेखि हालसम्म गतिविधिमा ब्यवस्थापन एक्स्पिरियन्स आउटडोरका अध्यक्ष रविन्द्र महर्जनलगायत सबै सहयोगीप्रति उनले आभार व्यक्त गरिन् ।

    कार्यक्रममा बालबिवाह रोकथामको लक्ष्य अभियानसमेत संक्षिप्तमा समेटिएको उनको कथाबारे डक्युमेन्ट्री पनि सो कार्यक्रम प्रदर्षण गरिएको थियो । संस्कृतिकर्मी प्रा. डा. पुरुषोत्तम लोछ श्रेष्ठ, बौद्ध विश्वबिद्यालयका पूर्व उपकूलपति प्रा. डा. त्रिरत्न मानन्धर, पूर्वमन्त्री ऋद्धिबाबा प्रधानले सम्मानित महर्जनलाई बधाईसँगै आयोजक संस्था र त्यसका अध्यक्ष संस्कृति शिरोमणी जोशीको सम्पादनमा तीन दशकसम्म निरन्तर रहेको नेपालको संस्कृति, सम्पदा र इतिहाससम्बन्धी एउटा उच्च कोटीको अनुसन्धानमूलक पत्रिका रोलम्ब जर्नल कार्यबारे पनि प्रकाश पारे ।

    जोशी रिसर्च ईन्स्टिच्युटकातर्फबाट अध्यक्ष हरिराम जोशीका सुपुत्र सुशिलराम जोशीले स्वागत मन्तब्य र २०१७ सालयता ६ दशकको यात्रापछिको बियोग लगत्तै पनि आफ्ना कलम–कृति अनि कर्मको निरन्तरतामा आफ्नो संगीनी कदमप्रतिको प्रेमिल जीवन्तता प्रदान गर्नुका साथै तथ्य र तर्कका बेजोड आधारमा इतिहासका विभिन्न पाटाहरु थप प्रकाशित गरेको “कदमः अभिनव मेरा अनुभूति” पुस्तक एक प्रति सहभागी सबैमा बितरण गरिएको थियो ।

    गत २०७८ बैशाख १४ गते दिवंगत भएकी धर्मपत्नी कदम केशरीको स्मृतिमा स्थापित ‘कदम पुरस्कार २०७९’ बितरण कार्यक्रममा लिपिविज्ञ श्यामसुन्दर रघुवंशी, जनमत साहित्यका मोहन दुवाल, हरिसिद्धिका धनगोविन्द महर्जनलगायतका थुप्रै संस्कृतिप्रेमीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार