अध्यक्ष नेपालद्वारा बैठकमा प्रतिवेदन प्रस्तुत


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, जेष्ठ ३१, २०७९

  • नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको १२औँ बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचन, २०७९ को समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । केन्द्रीय कार्यालयमा आज बसेको बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षाका साथै सातवटै प्रदेशबाट प्रदेश इञ्चार्जले आ–आफ्नो प्रदेशको रिपोर्ट प्रस्तुत गर्नुभएको महासचिव डा बेदुराम भुसालले जानकारी दिनुभयो ।

    रिपोर्ट प्रस्तुत गर्नेमा प्रदेश १ का घनेन्द्र बस्नेत, मधेस प्रदेशका रामचन्द्र यादव, बागमती प्रदेशका सावित्रा भुसाल, गण्डकी प्रदेशका केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशका भागवत विश्वासी, कर्णाली प्रदेशका प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशकी मदनकुमारी (गरिमा) शाह हुनुहुन्थ्यो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गर्नुभएको सो बैठकमा पार्टी उपमहासचिव डा विजय पौडेलको पूर्ण स्वास्थ्य लाभको कामना गरिएको थियो ।

    बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगन गरिएको छ । बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल गरिने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार