चुनावी नारामा सीमित सिमकोट सडक


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर १, २०७९

  • सिमकोट, १ मङ्सिर । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला हो । देशका अन्य सदरमुकाम सडक सञ्जालमा जोडिएको भए पनि हुम्ला सदरमुकाम सिमकोट अझै जोडिन सकेको छैन ।

    हरेक निर्वाचनमा नेताको चुनावी नारा बनेको हुम्ला जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा स्थानीयले वर्षौंदेखि सास्ती झेल्दै आएका छन् । जिल्ला बाहिर जाने एक मात्रै विकल्प हो हवाई जहाज तर हवाई सेवा पनि नियमित नहुँदा हुम्लीले अझ सास्ति खेप्दै आउनुपरेको हो । उसो यहाँका नागरीकले जहाज चढ्न पनि हप्तौँ कुर्नुपर्छ भने ठूलावडाको भनसुन लगाउनुपर्छ । सडकसँग नजोडिँदा नागरिकले हरेक क्षेत्रमा सास्ती खेपिरहनुपरेको छ ।

    यसपल्ट पक्का सडकसँग सिमकोट जोजिन्छ भन्दै हरेक चुनावमा राजनीतिक दल र तिनका उम्मेदवारले स्थानीय मतदातालाई एउटै आश्वासन दिँदै आए तापनि यो समस्याको अन्त्य अझै नभएको स्थानीयवासी बताउँछन् । सत्ता गठबन्धन दल र एमालेले आफ्ना स्थानीयस्तरमा गरिएका प्रतिबद्धतामा यो विषयलाई पहिलो प्राथमिकता राखेका हुन् ।

    विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनदेखि उठाउँदै आएको यो विषय राजनीतिक दलले अहिलेको चुनावमा समेत जोडदारका साथ उठाएका छन् । सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न पहल गर्ने विषय यो पटकको चुनावमा राजनीतिक दलको प्राथमिकतामा परेको छ । तर सडकसँग जोडिने हुम्लीको सपना सपनामै सीमित बनेको छ ।

    सदरमुकामसम्म राष्ट्रिय सडक सञ्जाल जोड्ने भए पनि त्यो मुद्दामै सीमित हुँदै आएको छ । चौबिस वर्षसम्म पूर्णता पाउन नसक्नु जिल्लाका लागि दुःखद् भएकाले अब कर्णाली करिडोरले चाँडै पूर्णता पाउने बताइरहेका छन् । २०६४ सालदेखि अहिलेको निर्वाचनसम्म दलले यो मुद्दालाई पहिलो प्राथमिकतामा राखेका छन् । हरेक चुनावमा हुम्लामा लाग्ने नारा नै सडकको हुन्छ । सडक नारामा आउँछ, व्यवहारमा आउँदैन । विसं २०६४, २०७० साल, २०७४ साल र त्यसअघिका चुनावमा पनि नेता र उम्मेदवारका मुखमुखमा सडक थियो तर, अझै सडक यातायातले सिमकोटलाई छुन सकेको छैन ।

    समय लागे पनि आवाज उठाएकै कारण कर्णाली करिडोरको निर्माण भएको दलहरूको दाबी छ । अब जतिसक्दो चाँडो सडक निर्माण सम्पन्न गर्नेतर्फ ध्यान जाने नेताहरूले बारम्बार दोहो¥याउने भनाइ भने नयाँ होइन । करिडोरको बाँकी काम नेपाली सेनाले गरिरहेको छ । सरकारले २०५१ सालदेखि हुम्लाको सदरमकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने विषय बजेटमा राख्दै आएको छ ।

    कर्णाली करिडोरको कवाडीदेखि हिल्सासम्म एक सय ८४ किलोमिटर छ । यसमा कवाडीदेखि सलीसल्लासम्मको ३९ किलोमिटर नेपाली सेनाले काम सम्पन्न गरेर बुझाइसकेको छ भने सिमकोटदेखि हिल्सासम्मको ९५ किलोमिटर सडक पनि हिल्सा सिमकोट सडक आयोजनाले सम्पन्न गरिसकेको छ ।

    अब सिमकोट–सलीसल्ला खण्डको ५० किमी सडकमा दुल्ली कुनादेखि लालिबगरसम्मको ११ किमी बाँकी छ । यो खण्डको सडक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएअनुसार हाल सेनाले काम गर्दै आएको छ । असजिलो चट्टानी क्षेत्र भएका कारण सेनाले डेढ वर्षमा मात्र काम सम्पन्न गर्ने जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार