गर्भबाट बाबुलाई चिठ्ठी !


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन १९, २०७६

  • काठमाडौं । “बाबा म अहिले गर्भमा हुर्किरहेको छु, हजुरले आमालाई पोसिलो खाने कुरा उपलब्ध गराउनुहोला आमाले सो खाएमा म र आमाको स्वास्थ्य राम्रो हुन्छ । म जन्मिसकेपछि नियमित तौल लिनु, खोपहरुसमेत लगाउनुहोला, म स्वास्थ भएँ भने देशका लागि योगदान गर्न सक्छु । म हुर्कँदै गर्दा आमालाई कुनै खालको तनाव र अभाव हुन नदिनुहोला, धन्यवाद ।” यी बाक्य लेखिएका सन्देश बारेकोट गाउँपालिकाको प्रत्येक गर्भवतीको घरमा पुगेको छ ।

    गाउँपालिकाले गर्भजाँच गर्न स्वास्थ्य संस्थामा आएका प्रत्येक गर्भवतीलाई सन्देश कार्ड र बाबालाई चिठ्ठी लेखिएको पत्र घरका आफन्तलाई पठाएर विशेष सन्देश प्रवाह गरिरहेको छ । चिठ्ठीमा गर्भावस्थादेखि चेतनाको वृद्धि हुञ्जेलसम्मका कुराहरु लेखेर पटक पटक बालबालिकाको भविष्यका लागि अभिभावकलाई सम्झाउने काम गरिएको छ ।

    घरमा अभिभावकहरु सो पत्र पढेर आफ्ना सन्तानका लागि गरिने कामको विषयमा जानकारी लिने गरेको बारेकोट गाउँपालिका–५ का वुद्धिजीवी जनकबहादुर शाहीले जानकारी दिए । गाउँपालिकाले सुरक्षित र संस्थागत सुत्केरी दर बढाउनका लागि ‘सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम’ समेत शुरु गरेको छ ।

    सो कार्यक्रममार्फत गाउँपालिकाभित्रका गर्भवती तथा सुत्केरी महिलालाई एउटा झोलाभित्र नङ्कट, मञ्जन, नुहाउने साबुन, कपडा सफा गर्ने साबुन, रुमाल, ऐना र काँइयो उपलब्ध गराउँदै आएको छ ।

    तीन वर्षको अन्तरालमा संस्थागत सुत्केरी हुने दर बढेको स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख वीरराज सिंहले जानकारी दिए । सङ्घीय सरकारको कार्यक्रमअनुसार नियमित चार पटकसम्म गर्भ जाँच गर्ने महिलालाई दुई हजार र कर्णाली प्रदेश सरकारले थप दुई हजार, बहुक्षेत्रीय कार्यक्रममार्फत एक हजारको सामग्री उपलब्ध हुँदै आएको छ ।

    अघिल्लो वर्ष बारेकोट गाउँपालिकाले सुत्केरीलाई थप एक हजार दिँदै आएको थियो । अहिले एक हजारको ठाउँमा आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य संस्था आउन जान मात्र दिनभर लाग्ने यहाँका ग्रामीण गाउँका महिलाहरु अहिले स्वास्थ्य सेवा जसरी पनि लिनुपर्छ भन्ने चेतनाका कारण सङ्ख्या वृद्धि भएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।

    तीन वर्षको तथ्याङ्क हेर्दा ५० प्रतिशतबाट अहिले ८१ प्रतिशत सुरक्षित ढङ्गबाट सुत्केरी गराउनेको सङ्ख्या पुगेको अध्यक्ष शाहले जानकारी गराए । उनले भने, “नियमानुसार गर्भवती जाँच गरी परामर्श लिनेको सङ्ख्या बढेको छ भने अपायक पर्ने ठाउँमा थप सहज बनाउनका लागि छ वटाभन्दा बढी सङ्घीय सरकारको कार्यक्रमअनुसार स्वास्थ्य संस्था निर्माण कार्य जारी रहेको छ ।”

    आर्थिक वर्ष २०७३-७४ मा ३५ प्रतिशत, २०७४-७५ मा ५० प्रतिशत र २०७५-७६ मा ६५ प्रतिशतले नियमानुसार गर्भजाँच गराएको बारेकोट गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ । अहिलेको अर्धवार्षिक प्रतिवेदनअनुसार गाउँपालिकाले बनाएको लक्ष्य पूरा भइसकेको स्वास्थ्य शाखाका प्रमुख सिंहले जानकारी दिए ।

    त्यस्तै आव २०७३-७४ मा ५० प्रतिशत, आव २०७४-७५ मा ७२ प्रतिशत आव २०७५-७६ मा ८१ प्रतिशत गर्भवती महिलाहरु संस्थागत र सुरक्षित सुत्केरी भएको पाइएको छ । यस आवको लक्ष्य ९० प्रतिशत गर्भवतीलाई सुरक्षित र संस्थागत सुत्केरी गराउने रहेको भए पनि अहिले सो लक्ष्यको नजिक पुगिसकेको उनको भनाइ छ ।

    बारेकोट गाउँपालिकामा सुरक्षित र संस्थागत सुत्केरी हुनेको सङ्ख्या अन्य स्थानीय तहको भन्दा बढिरहेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार