सात स्थानमा सशस्त्र प्रहरीको ‘चेकप्वाइन्ट’ स्थापना


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र २४, २०७६

  • भारतसँग सीमा जोडिएका कैलालीका विभिन्न सात सहायक सीमानाकामा सशस्त्र प्रहरीका नयाँ ‘चेकप्वाइन्ट’ स्थापना गरिएका छन् । नेपाल–भारत सीमामा आवतजावत गर्ने क्रम नरोकिएपछि सीमा क्षेत्रमा थप कडाइ गर्न चेकप्वाइन्ट स्थापना गरिएको हो । धनगढी उपमहानगरपालिका–९ बङ्गराकटान, वडा नं १० जुगेडा, कैलारी गाउँपालिका खोनपुर, भजनी नगरपालिका–७ हिक्मतपुर, वडा नं ६ कौवाखेडा, वडा नं ३ मौरीयाँघाट र टीकापुर नगरपालिका–९ श्रीलङ्कामा नयाँ चेक प्वाइन्ट स्थापना गरिएका हुन् । मुख्य नाका बन्द भएपछि सहायक नाका प्रयोग गरेर सर्वसाधारण नेपाल भित्रिन थालेपछि सीमामा नयाँ चेकप्वाइन्ट स्थापना गरिएको कैलालीका सहायक प्रजिअ मोहनराज जोशीले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल ३४ नं गणले भारतसँग सिमाना जोडिएको एक सय किमी लामो सिमानामा हालसम्म एक गुल्म र चार बिओपीमार्फत सीमा सुरक्षा गर्दै आइरहेकामा कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि थप सात चेकप्वाइन्ट स्थापना गरेको जनाइएको छ । नयाँ थप गरिएका सात र पुराना पाँचसहित १२ युनिटमार्फत सशस्त्र प्रहरीले भारतसँग जोडिएको कैलालीको सम्पूर्ण सीमा क्षेत्रमा निगरानी गरिरहेको जनाइएको छ । चौबिसै घण्टा सीमामा तैनाथ सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने आवतजावतमा पूर्णरुपमा निगरानी गरी नियन्त्रण गर्ने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार