पोखरा, ३० चैत । सानिमा बैंक लिमिटेडले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १० लाख प्रदान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई शनिबार सो बैंकका गण्डकी प्रदेश प्रबन्धक भावुक तण्डुकारले सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । मुख्यमन्त्री गुरुङले कोभिड–१९ सँग जुध्नका लागि सरकारी तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेकामा जोड दिँदै सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
सानिमाले सङ्घीय सरकारको कोरोना राहत कोषमा रु ५० लाख तथा देशका सात प्रदेश सरकारलाई रु १० लाखका दरले सहयोग गरेको बताइन्छ । एक हजार २७७ परिवारलाई राहत लकडाउनका कारणले साँझ बिहान चुलो नबलेका दैनिक ज्यालादारी श्रमिक र विपन्न परिवारलाई मादी र माछापुच्छ«े गाउँपालिकाले राहत विरतण गरेका छन् ।
लकडाउनबाट घर बाहिर निस्कन नपाएपछि साँझ बिहान हातमुख जोर्न धौधौ परेका मजदुर, विपन्न, असाहाय तथा गरिब परिवारको लगत सङ्कलन गरी ती दुई पालिकाले एक हजार २७७ परिवारलाई सम्बन्धित वडामा राहत वितरण गरिएको जनाएका छन् । मादीले पहिलो चरणमा ६५२ परिवारलाई राहत वितरण गरिएको जनाएको छ । राहतमा प्रतिपरिवार २५ केजीको एक बोरा चामल, दाल, चिनी र नुन एक केजीका दरले रु दुई हजार बराबरको खाद्यान्न वितरण गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिनुभयो ।
यसैगरी पर्यटन व्यवसायी एवं राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य महेन्द्र गुरुङले रु एक लाख एक हजार ५०० र इशानेश्वर हार्डवेयरले रु २० हजार सहयोग जम्मा गरेको गाउँपालिकाले जनाएको छ ।
माछापुच्छ्रेमा ६२५ परिवार
माछापुच्छ्रे गाउँपालिकाले ६२५ विपन्न परिवारलाई राहत वितरण शुरु गरेको छ ।
शुक्रबार र शनिबार अधिकांश वडामा राहत विरतण गरिएको र बाँकी वडामा आज वितरण गरिसकिने गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताउनुभयो । गाउँपालिकाले राहतका लागि तीनथरि प्याकेज बनाएको जनाएको छ । पाँच जना सदस्य रहेको परिवारलाई ३० केजीको एक बोरा चामल, दुई केजी दाल, एक लिटर टेल, एक पोका नुन, एक पोका बेसार तथा साबुनको ‘फुलप्याकेज’ वितरण गरिएको बताइन्छ ।