रोजौं सही नेतृत्व


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, जेष्ठ २२, २०७७

  • किरण तिम्सेना

    कम्युनिस्टहरुको नेतृत्वबाट देशमा विकासको लहर सुरू हुनेछ । सबै नागरिकलाई गास, बास, कपासको उचित व्यबस्था हुनेछ । सबै नागरिकले समान अवसर पाउनेछन् । रोजगारी, शिक्षा, स्वास्थ, सुरक्षाको प्रत्याभूति हुनेछ । देश ढुङ्गे युगबाट केही हदसम्म अगाडी जानेछ भनेर आशावादी हुने व्यक्ति म पनि थिएँ ।

    तर, हरेक क्षण नेतृत्वबाट भएका महान जादुगरी हर्कतहरुले प्रमाणित गर्दै गयो कि ईतिहासमै नालायक र भिजन नभएका नेतृत्व अर्को जन्मिएको थिएन । र, जन्मिदैन होला । सायद गधालाई धोएर कहिल्यै गाई बन्दैन भन्ने कुराको छनक गधाले नै पाइसक्दा पनि ‘बन्छ कि बन्छ’ भन्दै चौबिसै घण्टा रगडी रगडी धुने जागीर जस्तो आत्मग्लानीपूर्ण र चुत्थो कर्म केही हुन्न है हनुमान र अरिङ्गालजनहरु ।

     

    उग्रराष्ट्रवादका नारा घन्काएर सत्तारोहणको च्याँखे थाप्ने राजनीतिक ट्रिक अहिले ‘भुत्ते’ भै सक्यो भनेर कस्ले बुझ्या छैनन् र भन्या ? रास्ट्रवाद यस्तो टोपी हो जुन धुर्तको एक सानो समुहले मुर्खको अर्को ठुलो समूहलाई लगाईदिएर शासन गर्छन् । कोरोना कहरको असफलता कभर गर्न मार्केटमा अनेक टोपी लगाइदिदै छन् धुर्तहरु । यहाँ आबश्यकता भन्दा ठुलो उद्देश्यलाइ बनाएका छन् आबश्यकता यथार्थ हो उद्देश्य भ्रम हो र हरेक शासकले भ्रमको ब्यापार गर्दछन् महामारीले नेतृत्वको असली रुप छर्लङ्ग बनायो ।

     

    ३० बर्षे पञ्चायत र १० वर्षे माओवादी युद्धले जनतालाई सरकार भनेको बिपक्षी र बिरोधी संस्था हो भन्ने चिन्तन विकास गरायो । नेपाली जनता राजनीतिक क्रान्तिको धङ्धङ्गीबाट अझैँ बाहिर आउन सकेका छैनन् । केही समय लाग्छ । राजनीतिक क्रान्तिपछि हर दिन निर्वाचन झैँ राजनीतिक बहस हैन, विकास र समृद्धिका बहस आवश्यक हुन्छ । मुलुक नबने त्यस्ता देशका जनताले जति सम्पत्ति थुपारे पनि त्यो खोस्टो बराबर हुन्छ । हामीले प्रणालीको निरन्तरता र संस्थागत गर्ने कुरामा ध्यान दिनु जरुरी छ । राज्यका निकायहरु जति बलिया हुन्छन्, त्यती नागरिक शासनको अनुभुती हुने हो ।

     

    राज्यलाई प्रतिपक्षी हैन सहयोद्दाको व्यबहार गरौं तर बिडम्बना नेतृत्व आफै प्रतिपक्षी र बिपक्षीको भुमिका निर्वाह गर्न चाहन्छ । आफनो उत्तरदायित्व बिर्सिन्छ । जवाफदेही हुन चाहदैन । उ नेता हैन शासक हुन चाहन्छ । यो जति Morally Corrupt / Intellectually bankrupt सरकार पहिले नि थिएन । भोलि पनि सायद हुँदैन । यहि दर्साउन चाहन्छ नेतृत्व ।

    यो देशमा अदृश्य शक्तिहरु ३ किसिमको लगानी गर्छन् । एउटा आतंककारी जो सधैँ जंगलमै हुन्छन् । एउटा धुन्धुकारी जो सधैँ सत्तामै हुन्छन् अनि अर्को चै भोकमरी जो सधैँ सडकमै हुन्छन् । अनि यी तीनवटै वर्गबिच लडाइ मच्चाउने या पालो फेरो स्थानान्तरणको जिम्मा आफैले लिन्छन् ।

     

    आखिर कुरा ब्यापार कै रहृयो । बाँकी भ्रम हुन् । राजनीति शुद्ध ब्यापार हो । सत्ता व्यापारको केन्द्र हो । नेता ब्यापारी र बाजिगर नै हुन् । जनमतको सौदागर हुन् । एउटा उखान छ अङ्ग्रेजीमा ‘Politicians are like diapers, they need to be changed often, and for the same reasons’ – Mark Twain

    .अब हामी ब्युझिन पर्छ । हामिले जति भोग्नु थियो भोगिसक्यौं हामी जाग्नुपर्छ ।

    “अभिमन्युका छोरा परीक्षितलाई सर्पले डसेर मृत्यु हुन्छ भनेपछि तिनले देशभरका सर्प मार्न लगाए रे ! त्यसैगरी कुन चैं राजालाई बाघले खान्छ भन्दा डराएर राजाले चिरञ्जीविको यज्ञ गरे रे !

    तर न त परीक्षित नागबाट बचे न त यज्ञस्थलको चदुवा नै बाघबाट । शासक डरपोक स्वभावकोको हुन्छ । डरपोक भएर नै हठी हुन खोज्छ । आफ्नो सत्ता जोगाउन जुनसुकै हदसम्म जान सक्छ । शासकको हठ स्वभाबिक हो । विद्वानको मौनता घातक हुन्छ । अब समाजमा विद्वानहरुले बोल्नुपर्छ । अचेत नेतृत्वको आँखा खोल्नुपर्छ ।

    ‘मलाई दास बन्न अस्विकार्य छ । मलाई दास बन्न अस्विकार्य भएकाले मलाई कसैको मालिक बन्न पनि अस्विकार्य छ । यी दुई वाक्यले लोकतन्त्रबारे मेरो धारणा बताउछन् ।’ अब्राहम लिंकन

    हो, हामीले आफ्नो स्वतन्त्रताको लागी बोल्नुपर्छ । हामीले हाम्रो संबैधानिक अधिकारका निम्ति बोल्नुपर्छ । हामि स्वतन्त्र हुनुपर्छ । हामीले चुनेको सत्ताले हामीलाइ दास बनाउन पाउदैन । हामीलाई दासत्व अस्विकार्य हुनुपर्छ । अङ्ग्रेजी साहित्यमा एउटा कहावत छ :

    फेरि प्रेम गर्न नडराउ,
    पहिलो प्रेम सम्बन्ध शून्य बाट सुरु गरेका थियौ
    र अब अनुभवबाट गर्ने छौ ।

    हो फेरि पनि हामी राजनीतिबाट टाढा रहनुहुन्न । सामाजिक उत्तरदायित्वबाट पन्छिन हुँदैन । गल्ती नगर्ने बुद्धि कसैको हुँदैन । तर, माफी माग्ने मुटु पनि हर कोहीको हुदैन । गल्ती गर्ने मान्छे आफैमा गलत मान्छे होइन । तर, गल्ती नस्वीकार्ने मान्छे पक्कै गलत हो । फरक राजनैतिक आस्था, वैचारिक धार, निति, सिद्धान्त अनि हरेक सम्भव परिवर्तनको आशा राख्नेहरुले कम्युनिजम अपनाउछन् ।

    निती ठूलो कुरो हो नेता त आउछन्, जान्छन् । दुइ, चार थान गलत मनसाय भएका नालायक नेता कार्यकर्तालाइ देखाउदै समग्र कम्युनिस्ट आन्दोलन गलत हो । अनि सवै कम्युनिस्ट गलत हुन् भन्ने नकारात्मक मानसिकतामा परिवर्तन ल्याउने कि ? वर्षौंदेखि बोलिदै आएको एउटा महान झूठ यो हो कि, एकदिन समाज आफैं बदलिन्छ । अहँ….परिवर्तन ल्याउनुपर्छ । आशा गरौं, एकदिन हामी सहि नेतृत्व रोज्नेछौं । आफैभित्र खोज्ने छौं त्यो नेतृत्व । जसले असत्यबाट सत्यतर्फ लैजाओस् । अन्धकारबाट उज्यालोतर्फ लैजाओस् ।

    आफ्नो दियो आफै बनोस् । हामीलाई पनि सद्बुद्धि दियोस्, हामी खोज्छौं, रोज्छौं, आस गछौं । एकदिन हाम्रो चन्द्र, सुर्य फर्फराउँछ, लहराउँछ । सगरमाथाको उचाइमा उभिएर विश्व शान्तिको बिगुल हामी फुक्नेछौं ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार