बागलुङ बजार एक साता बन्द


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, भदौ २, २०७७

  • बागलुङ, २ भदौ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य सङ्घले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ । गए मध्यरातिदेखि लागू हुने गरी यही भदौ ७ गतेसम्म बजार बन्द गर्ने निर्णय भएको सङ्घले जनाएको छ ।

    सङ्घका अध्यक्ष युवराज राजभण्डारीद्वारा सोमबार जारी विज्ञप्तिमा ‘अत्यावश्यक खाद्य सामग्री, मासुजन्य, दुग्धजन्य, पानी, औषधि, सरसफाइका सामग्री, तरकारी, ग्यास, इन्धनबाहेकका सबै उद्योग तथा पसलहरु बन्द गरिदिनुहुन अनुरोध छ’, उल्लेख छ ।

    अत्यावश्यक वस्तु किनमेल पनि बिहान ७ः३० देखि १० बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म मात्र गर्ने प्रबन्ध मिलाउन अनुरोध गरिएको छ । सङ्घले पसल, व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन व्यवसायीमा आग्रह गरेको छ ।

    बागलुङ नगरपालिका–१, २, ३ र ४ वडाले पनि वडाबाट प्रदान गरिने सेवा एक सातालाई बन्द गरिएको जनाएका छन् । अत्यावश्यकबाहेकका अन्य पसल, व्यवसाय र सेवा बन्द गरी सहयोग गरिदिन वडाले सबैमा आग्रह गरेका छन् । सङ्घ र वडाको निर्णयअनुसार आज बिहानैदेखि अत्यावश्यकबाहेकका पसल, व्यवसाय बन्द छन् ।

    ‘बजारमा भीडभाड बढेकाले कोराना फैलने डर भयो, त्यसैले कडाइ गर्ने निर्णय भएको हो’, वडा नं २ का अध्यक्ष जीवन आचार्यले भने । समुदायका व्यक्तिमा कोरोना देखिन थालेपछि जिल्लामा कडाइ गर्न थालिएको हो । केही दिनअघि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, व्यवसायीलगायतमा कोरोना पुष्टि भएको थियो । यसअघि जिल्ला सङ्कट व्यवस्थापन र सुरक्षा समितिले आइतबारदेखि लागू हुने गरी सवारी साधनलाई जोर/बिजोर प्रणालीका आधारमा चलाउने निर्णय गरेको थियो ।

    यस्तै खुला स्थानमा भीडभाड गर्ने, भेला हुने र जुलुस आदिजस्ता कार्यलाई रोक लगाइएको छ । नित्य पूजापाठबाहेक मन्दिरमा हुने धार्मिक कार्य बन्द गर्ने, मेला, जात्रा, सार्वजनिक कार्यक्रम, गोष्ठी, सेमिनार, भेला आयोजना गर्न नपाइने निर्णय गरिएको छ । होटल, रेष्टुराँलाई पनि प्याकिङ गरी खाना लैजाने (टेकअवे) सेवा मात्र प्रदान गर्न अनुरोध गरिएको छ । वडाध्यक्षमा कोरोना देखिएपछि बडिगाड गाउँपालिका पनि भदौ ७ गतेसम्मलाई सिल गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार