प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत भीमदत्त नगरपालिकाले दियो १९५ लाई रोजगारी


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ २, २०७८

  • कञ्चनपुर, २ भदौ । भीमदत्त नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १९५ जनाले रोजगारी पाएका छन् । रोजगार संयोजक केशव विष्टका अनुसार आर्थिक वर्ष २०७७-७८ मा नगरपालिकाका विभिन्न छ वडामा सो कार्यक्रम सञ्चालनमा ल्याइएको थियो । कार्यक्रमअन्तर्गत वडा नं १ मा ४५ ले धार्मिक पर्यटकीय क्षेत्र मणिदीप धामबाट विष्णु मन्दिरसम्म चार किलोमिटर र वडा नं ३ मा विष्णु मन्दिरबाट मलास जाने एक किमी बाटो निर्माण गरिएको छ ।

    उक्त योजनामा ४० ले रोजगार पाएको उहाँले बताउनुभयो । वडा नं ९ मा ब्रह्मदेवबाट खल्ला–मसेट्टी जाने बाटो निर्माण गरिएको उक्त योजनामा ५३ ले रोजगारी पाएका छन् । यसैगरी वडा नं १० को शान्ति सामुदायिक वनमा कार्यक्रमअन्तर्गत उद्यान निर्माणमा २८ ले रोजगारी पाएका छन् । रोजगार कार्यक्रमअन्तर्गत वडा नं १५ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र मानव बस्तीबीचको क्षेत्रमा दुई किमी ट्रेञ्च खन्ने कार्य गरिएको थियो । वडा नं १९ मा भने कार्यक्रमअन्तर्गत सिद्धनाथ स्कूलको खेलमैदान बनाइएकोे छ । विद्यालयको पुरानो जीर्ण अवस्थामा रहेको भवन भत्काएर खेलमैदान निर्माण गरिएकामा त्यहाँ नौ स्थानीयवासीले रोजगारी पाएका छन् ।

    ‘कोरोना सङ्क्रमणका कारण कार्यक्रम सुरु हुने समयमा लकडाउन भएपछि योजना पूर्णरूपमा कार्यान्वयन हुन सकेन’, संयोजक विष्टले भन्नुभयो, ‘सबै वडामा रोजगार कार्यक्रम सञ्चालन गर्ने योजना भए पनि लकडाउनका कारण छ वडामा मात्रै कार्यक्रम सञ्चालन गर्न सकिएको छ ।’ कार्यक्रमअन्तर्गत १९५ लाई रु ६५ लाख २१ हजार ज्याला उपलब्ध गराइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट