दशैँमा च्याङ्ग्राको मूल्यमा वृद्धिः उपभोक्ता निरासामा


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, अशोज १९, २०७८

  • गलेश्वर, १९ असोज । वर्षभरि जे–जस्तो खाए, लाए पनि दशैँमा मीठै खाने, राम्रै लाउने नेपाली परम्परा नै बनिसकेको छ । यही परम्पराको सिको अहिलेको आधुनिक र नयाँ पुस्ताले पनि गर्दै आएको छ । दशैँसँग जोडिएर आउने प्रमुख चिजमध्ये च्याङ्ग्राको मासुका परिकार पनि एक हो । दशैँको बेला प्रायः नेपालीको घरमा एक दुई छाक भए पनि च्याङ्ग्राको मासु पाक्ने गर्छ । तर यस वर्ष भने न्यून आय भएका सर्वसाधारणले च्याङ्ग्राको मासुको स्वाद लिन नसक्ने भएका छन् ।

    सोमबारदेखि म्याग्दीको सदरमुकाम बेनी बजारमा मुस्ताङ्गी च्याङ्ग्रा भित्रिन सुरु गरेका छन् । पहिलो खेपमा भित्रिएका करिब १५० च्याङ्ग्रा हेर्न कालिपुलमा सर्वसाधारणको भीड नै लागेको भए पनि एक÷दुई जनाबाहेक अन्यले किन्ने आँट भने गर्न सकेनन् । कारण थियो, च्याङ्ग्राको मूल्य । रोज्जा च्याङ्ग्रालाई रु ५० हजार बताएपछि धेरै ग्राहक पछि हटे । कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि यस वर्ष तिब्बतबाट दशैँमा धेरै भेडा, च्याङ्ग्रा नेपाली बजारमा नआएपछि मुस्ताङमा पालिएका भेडा च्याङ्ग्राको मूल्य पनि आकाशिएको हो । तिब्बतबाट च्याङ्ग्रा ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्ग्राको भाउ प्रतिगोटामै सातदेखि १० हजारसम्मले महङ्गिएकाले तल झार्दा लागत खर्च, बाटोको समस्याआदि कारणले गर्दा च्याङ्ग्राको मूल्य बढेको लोमान्थाङ्का व्यापारी पासाङ गुरुङले बताउनुभयो ।

    मुस्ताङमा गत वर्ष व्यापारीले रु २७ हजार प्रतिगोटामा बिक्री गरेको च्याङ्ग्राको भाउ यसपटक च्याङ्ग्रा पाइने मूल थलोमा नै रु ३५ हजार भन्दा माथि पुगेको व्यापारीको भनाइ छ । मूल थलोमै महङ्गो भएपछि बजारमा च्याङ्ग्राको भाउ अझै बढ्न सक्ने च्याङ्ग्रा व्यापारी थानेश्वर खड्काले बताउनुभयो । गत वर्ष पनि कोरोनाका कारण कोरला नाकाबाट च्याङ्ग्रा नभित्रिएपछि मुस्ताङबाट मात्रै रु सात हजार भेडा, च्याङ्ग्रा बिक्रीका लागि पठाइएको र यस वर्ष मुस्ताङमा पनि धेरै भेडा, च्याङ्ग्रा नभएकाले यसको मूल्य बढेकोे एक दशकदेखि मुस्ताङमा भेडा, च्याङ्ग्राको व्यवसाय गर्दै आएका गुन्जा तेन्जिङले बताउनुभयो ।

    हिमाली जिल्लालाई लक्ष्य गरेर स्थानीय, प्रदेश र सङ्घीय सरकारले भेडा, च्याङ्ग्रापालन व्यवसायका लागि वर्षेनी करोडौँ रकम लगानी गर्दै आएको छ । मुस्ताङमा पनि भेडा, च्याङ्ग्रा र ऊन प्रशोधनका लागि गण्डकी प्रदेश सरकारको मात्रै करोडौँ लगानी छ । तर सरकारले त्यति धेरै लगानी गरेर प्रोत्साहित गरेको भेडा, च्याङ्ग्रापालनको अवस्था मुस्ताङमा कस्तो रहेछ त भन्ने कुराको उदाहरण दशैँ–तिहारमा भेडा च्याङ्ग्राको अभाव र अस्वभाविकरूपमा भएको मूल्यवृद्धिले देखाएको यहाँका वुद्धिजीवीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट