इन्धनको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, कार्तिक २५, २०७८

  • काठमाडौँ, २५ कात्तिक । विभिन्न विद्यार्थी सङ्गठनले सरकारले बुधवार गरेको इन्धनको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग गरेका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ ९नाफिज० ले यहाँ आज आयोजना गरेको ‘पेट्रोलियम पदार्थको बढ्दो मूल्य र यसको अर्थ राजनीति’ विषयक अन्तरक्रियामा सङ्गठनका नेताले कोरोना महामारीका कारण मारमा परेका जनतालाई थप मारमा पार्ने गरी इन्धनको मूल्यवृद्धि गरिएको भन्दै मूल्यवृद्धि गर्ने निर्णय फिर्ता लिनुपर्ने माग गरेका गरेका छन् ।

    अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसिं लामिछाने र एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष सुरेश पराजुलीले दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता नलिए शुक्रबार विद्यार्थी सङ्गठनले आन्दोलन गर्ने बताउनुभयो । बुधबार रातिदेखि लागू हुने गरी सरकारले इन्धनको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेलमा यसअघिको मूल्यमा प्रतिलिटर रु तीनले बढाइएको हो ।

    नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिको बुधबारको बैठकले रातिदेखि लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । त्यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु ७५ बढाएर १५ सय ७५ पुगेको छ । पेट्रोलको मूल्य प्रतिलिटर रु १३६ पुगेको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य रु ११९ कायम भएको छ । आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर रु पाँच बढेर १०१ कायम गरिएको छ । अन्तरक्रियामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले मूल्य वृद्धि गर्नु सरकारको बाध्यता भएको जनाउँदै विरोध मात्रै गर्नेभन्दा पनि छलफलका माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

    नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र सरकारले लगाइरहेको करका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जिकिर गर्नुभयो । निगमका नायब प्रबन्ध निर्देशक नागेन्द्र शाहले मूल्यवृद्धि नभएर मूल्य समायोजन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै इन्डिकेटर अटोमेटिक छ, निगमको प्रशासनिक खर्च जम्मा ०।४८ प्रतिशत हो, बाँकी हाम्रो नियन्त्रणमा छैन ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार