अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइने


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, साउन ६, २०७९

  • काठमाडौँ, ६ साउन । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी रूपमा मनाइने भएको छ । राष्ट्रिय युवा परिषद्को आयोजनामा “समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा” भन्ने मूल नाराका साथ दिवस साताव्यापी रूपमा मनाउन थालिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले साउन २० गतेदेखि नै युवा लक्षित कार्यक्रम गरेर दिवस मनाउन थालिएको जानकारी दिनुभयो ।

    यस वर्ष दिवस साउन २७ गते मनाइँदै छ । साताव्यापीरूपमा मनाइने दिवसमा युवाको क्षमता र उद्यमशीलतामा नेतृत्व विकासका लागि कार्यक्रम आयोजना गरिने उहाँले बताउनुभयो । दिवसकै अवसरमा स्थानीय तहमा प्रतिनिधित्व गरेका जनप्रतिनिधिसँग युवामैत्री शासन छलफल कार्यक्रमसमेत गरिने छ । दिवसको दिन राष्ट्रियसभा गृहमा आयोजना गरिने कार्यक्रमअघि बिहान सेना, प्रहरी, युवा तथा विद्यार्थी सङ्गठन र गैरसरकारी संस्थाका युवाको प्रभातफेरी राखिएको छ ।

    दिवसलाई सफल बनाउनका लागि युवा तथ खेलकुदमन्त्री महेश्वर गहतराजको अध्यक्षतामा ६५७ मूल समारोह समिति गठन गरिएको छ । यस्तै दिवस सफल बनाउनका लागि परिषद् कार्यकारी उपाध्यक्ष बस्नेतको संयोजकत्वमा सचिवालय गठन गरिएको छ । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।

    नेपालमा युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन नहुँदा युवा लाभान्वित बन्न सकेका छैनन् । सरकारले विसं २०७२ मा राष्ट्रिय युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । परिषद् गठन भएसँगै परिषद्कै अगुवाइमा दिवस हरेक वर्ष मनाउन थालिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार