महादेवखोला ब्रह्मायणी क्षेत्र उत्तरगया विकास समाजले बनेपा नगरपालिका–४ नालामा निर्माण गरिएको १० अवतारसहितको ब्रह्माको प्रतिमा उद्घाटन गरिने जनाएको छ ।
उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आगामी शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित नालामा आउनुहुने तय भएको आज एक पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । आयोजक समितिका अध्यक्ष पुरुषोत्तम सापकोटाका अनुसार आगामी शनिबार उहाँ दिउँसो १ बजे आउनुहुने भएको छ ।
धार्मिक पर्यटन प्रवर्द्धन गर्न निर्माण गरिएको उद्यानमा नेपालमा नै पहिलो पटक ३० फिट अग्लो १० अवतारसहितको चतुरायण ब्रह्माको प्रतिमा र मन्दिर निर्माण गरिएको उहाँले बताउनुभयो । निर्माण गरिएको ब्रह्माको प्रतिमामा राष्ट्रपति भण्डारीबाट पञ्चामृत स्नान गराउने कार्यक्रम रहेको जनाएको छ ।
विसं २०७५ माघमा दर्ता भएको सो संस्थाले विसं २०७१ मङ्सिरमा महादेवस्थानको बृहत्तर विकास तथा रुद्रयाग शैव महायज्ञ आयोजना गरी पहिलो चरणमा सोही क्षेत्रको संरक्षण, प्रवर्द्धन गर्न महादेव खोला परिसरमा मन्दिर, घाट तथा अन्य संरचना निर्माण गरी दोस्रो चरणमा ३० फिट अग्लो १० अवतारसहितको चतुरायण ब्रह्माको प्रतिमा, मन्दिरका साथै उद्यान निर्माण गरिएको समाजका अध्यक्ष सापकाले बताउनुभयो ।
“एकानब्बे रोपनी सार्वजनिक जग्गामा रहेको सो क्षेत्रमा संरचना तयार गर्न समुदायस्तरबाट ठूलो धनराशि सङ्कलन गरेर काम सम्पन्न गरेका छौँ”, उहाँले भन्नुभयो, “रु एक करोड २० लाख ५० हजार लागतमा उद्यान निर्माण गरेका हौँ ।” विशेषगरी ‘नालाको शान, धार्मिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ नालालाई धार्मिक पर्यटनका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘ब्रह्मा उद्यान’ निर्माण गरिएको उहाँले बताउनुभयो ।
समाजले पछिल्लो समयमा सो क्षेत्रको बृहत्तर विकासका लागि गुरुयोजना तयारी गरी तेस्रो चरणमा सो क्षेत्रमा दृश्यावलोकन स्तम्भसहितको बाटिका निर्माण गर्ने कार्यक्रम बनाएको छ । चौथो चरणमा युवा जगत्लाई लक्षित गरी खेल मैदान निर्माणलगायत योजना तयार गरी नगरपालिकामार्फत प्रदेश सङ्घ सरकारसमक्ष बजेट माग गर्ने प्रक्रियामा रहेको महादेवखोला ब्रह्मायणी क्षेत्र उत्तरगया विकास समाजका सचिव श्याम सापकोटाले बताउनुभयो ।
बनेपा नगरपालिका–४ का वडाध्यक्ष श्याम श्रेष्ठले स्थानीयस्तरबाट निर्माण गरिएको ब्रह्मा उद्यानको गुरुयोजनालाई पूर्णता दिनका निमित्त वडाबाट नै नगरपालिका हुँदै प्रदेश र सङ्घ सरकारलाई बजेटको व्यवस्थापन गर्न माग पेश गरेको बताउनुभयो ।
करिब रु १६ करोडको लागत अनुमान गरिएको गुरुयोजनाका साना–साना कार्य वडा र नगरपालिकाको बजेटबाट निर्माण गर्दै लैजाने र पूर्णता दिनका लागि प्रदेश र सङ्घ सरकारसँग बजेट माग गर्ने तयारीमा रहेको उहाँको भनाइ छ ।
शनिबार राष्ट्रपति भण्डारी आउने भएपछि आज नै काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे नेतृत्वको नेपाली सेना र नेपाल प्रहरीको टोली सो क्षेत्रको अनुगमन गरी शान्ति र सुरक्षाको आवश्यक व्यवस्थानको तयारीमा जुटेको छ ।