अब स्वास्थ्य जानकारी एपमा आउँदै


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन २१, २०७५

  • काठमाडौं , फागुन २० ।  काठमाडौँ – तपाइँलाई सञ्चो भएन ? आफन्तलाई स्वास्थ्य सस्थामा लैजानु पर्‍यो अथवा दुर्घटना परेकालाई तत्काल नजिकको स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउनु पर्‍यो ?

    कुन अस्पताल जाने-लैजाने, कुन चिकित्सकलाई देखाउने कस्तो सेवा लिने ? कुन कुन सेवा कुन कुन अस्पतालबाट पाइन्छ भन्नेमा अन्योल हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् ।

    आफ्नो मोबाइलमा यससम्बन्धी विस्तृत जानकारी समेटिएको एपबाट छिट्टै ती लगायत स्वास्थ्य सेवासित सम्बन्धित अन्य महत्वपूर्ण सूचना एवं जानकारी प्राप्त गर्नका लागि गृहकार्य अघि बढाइएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवाबारे जानकारी दिने ध्येयले पहिलोपटक यससम्बन्धी एप निर्माण गर्न लागेको हो । यसका लागि स्वास्थ्य सचिवको संयोजकत्वमा अध्ययन कार्यदलसमेत गठन गरिएको छ ।

    “कुन अस्पतालमा के कस्तो सेवा उपलब्ध छ ? कुन अस्पतालमा कति चिकित्सक कार्यरत छन् ? उनीहरूको विशिष्टिकृत सेवा कुन हो ? सेवा कसरी र कहाँ प्राप्त गर्ने ? तत्काल एम्बुलेन्स तथा रगत कसरी पाइन्छलगायत सेवा मोबाइलमा एपमा रहन्छ ।”, उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले भने ।

    सरकारी अस्पतालले नागरिक बडापत्रमार्फत् आफ्नो सेवाबारे सेवाग्राहीलाई जानकारी दिँदै आएको छ । सबै स्वास्थ्य संस्थाका सूचना, जानकारी तथा तथ्याङ्कलाई एकीकृत गरी एप निर्माण गर्ने मन्त्रालयको तयारी छ ।

    निजी क्षेत्रबाट प्रदान गरिने स्वास्थ्य सेवाका सूचना तथा तथ्याङ्कलाई भने मन्त्रालयले हालसम्म अद्यावधिक गर्न सकेको छैन । निजी क्षेत्रका अस्पतालले मन्त्रालयलाई खासै जानकारी पनि गराउँदैनन् । मन्त्रालय मातहतका स्वास्थ्य संस्थाले समेत मन्त्रालयलाई समयमै विवरण उपलब्ध गराउने गरेका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार