लुका मोड्रिच भन्छन् : ‘रियलका फरवार्डले रोनाल्डोको अभाव पूरा गर्न सक्दैनन्’


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन २१, २०७५

  • स्पेनिस क्लब रियल मड्रिडका खेलाडी लुका मोड्रिचले पूर्वसहकर्मी तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई आफूरूले एकदमै मिस गरिरहेको बताएका छन् ।

    सोमबार मिडियासँगको कुराकानीमा रियलका मिडफिल्डर मोड्रिचले रोनाल्डोलाई आफूहरूले सम्झिरहेको बताउँदै उनको अभाव पूर्ति क्लबका फरवार्डहरूले गर्न नसकेको बताएका हुन् ।
    रसिया विश्वकपमा उत्कृष्ट प्लेयर घोषित् भएका मोड्रिचले रोनाल्डोको अभाव जुनसुकै क्लबले पनि महसुस गर्न सने बताए । रोनाल्डोको विकल्प खोज्नु असम्भव रहेको बताउँदै उनले भने, ‘रोनाल्डोले क्लबका लागि गरेको योगदानका कारण पनि हामी उनलाई मिस गरिरहेका छौं ।’

    यस्तै उनले रोनाल्डो गएसँगै रियलको गोल गर्ने क्षमता पनि गुमेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो क्लबले यस सिजन एक रुपता र गोल गर्ने क्षमता गुमाएको छ । गोलका सञ्जिवनी बुटी मानिने उनी (रोनाल्डो) गएपछि त्यसको प्रभाव टोलीमा परेको छ ।’

    रियलले ला लिगाअन्तर्गत भएको इएल क्लासिकोमा धेरै नै अवसरहरूमा गोल गर्न नसक्दा आफ्नै मैदानमा पराजय ब्यहोरेको थियो । त्यसअघि कोपा डेल रेअन्तर्गतको खेलमा पनि रियल गोल गर्न चुकेको थियो । जसकारण उसले सेमिफाइनलबाटै बिदा लिनुपरेको थियो ।

    ३३ वर्षीय मोड्रिकले बार्सिलोनाविरुद्धको खेल सम्झँदै भनेका छन्, ‘यस सिजन गोल गर्न नसक्नु र खेलमा एकरुपता ल्याउन नसक्नु नै हाम्रो मुख्य समस्या हो । उदाहरणका लागि हामीले बार्सिलोनाविरुद्धको खेललाई हेर्न सक्छौं । त्यहाँ हामीले धेरै नै अवसर पाएका थियौं । तर पनि गोल गर्न सकेनौं । यदि हामी गोल गर्न सक्दैनौं भने त्यसको प्रत्यक्ष फाइदा विपक्षी टोलीले उठाएरै छाड्नेछन् ।’

    उनले थपे, ‘रोनाल्डोजति धेरै गोल गर्ने खेलाडी अब हामीले पाउन मुस्किलै छ । अब हाम्रो क्लबमा त्यस्ता दुई–तीन जना खेलाडी चाहिन्छ, जसले १५, २० वा १० गोल भएपनि गर्न सकोस् । तर, हामीसँग त्यस्ता खेलाडी नै छैनन् ।’

    रियलले आज राति नेदरल्याण्ड्सको क्लब अजाक्सको सामना गर्दैछ । च्याम्पियन्स लिगअन्तर्गतको यस खेल दुवै टोलीका लागि एकदमै महत्त्वपूर्ण छ । किनकी, आज अन्तिम आठमा प्रवेश गर्नका लागि निर्णायक खेल हुँदैछ । पहिलो लेगमा अजाक्सलाई उसैको मैदानमा २–१ ले हराएको रियलले आज आफ्नै मैदानमा खेल्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार