प्रधानमन्त्री ओली : “नयाँ प्रधानमन्त्री निवास मेरा लागि हाेइन ।”


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज २, २०७६

  • काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य दबाब र प्रभाव पर्न नदिन संघीय संसद भवन सरकारले आफ्नै लगानीमा बनाउन सुरु गरेको बताउनु भएको छ ।

    संसद भवन बनाउन ठूलो लगानी गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था, नीति, निर्माण गर्ने संस्था त्यसलाई स्वतन्त्र ढंगले अघि बढाउन पनि आफ्नै लगानीमा त्यो भवन निर्माण गर्न लागिएको प्रष्टयाउनु भएको हो ।

    ‘हामीले भन्यौँ, हाम्रो संसद भवन अरुको सहायतामा निर्माण गर्दैनौँ । संसद भवन बनाउन पनि अरुको सहयोग पाउन सक्थ्यौँ’, प्रधानमन्त्री ओलीले थप प्रष्टयाउनु भयो, ‘तर देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था, जो अत्यन्त स्वतन्त्र ढंगले कुनै प्रकारको कसैको दायित्व, उत्तरदायित्व, दबाबजस्ता कुराहरु नलिइकन कुनै पनि प्रकारको प्रभावमुक्त राख्नुपर्ने भएकाले संसद भवन आफ्नै लगानीमा निर्माण गर्न सुरु गरियो ।’

    बिहीबार बालुवाटारमा नयाँ प्रधानमन्त्री निवास भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले संसद भवनमा ठूलो लगानी भयो भनेर आएको टिप्पणीलाई नकारात्मक मानसिकताको संज्ञा दिँदै त्यसो गर्नु जायज नहुने पनि बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले नयाँ प्रधानमन्त्री निवास आफ्ना लागि नभएको पनि बताउनुभयो । ‘म अहिले ४१औँ प्रधानमन्त्री छु,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘यो भवनमा २ सय ४१औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ । यो भवन रंगरोगन गर्दागर्दै मेरो कार्यकाल सकिन्छ र मपछिका प्रधानमन्त्रीहरु बस्न पाउनुहुन्छ ।’ त्यस अवसरमा उहाँले अबका प्रधानमन्त्री छिटोछिटो परिवर्तन नहुने पनि स्मरण गराउनुभयो ।

    प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल भने त्यो भवन निर्माण कार्य हुँदै गर्दा बित्ने भएकाले नयाँ प्रधानमन्त्रीले भने त्यस भवनमा शान्तसँग बस्न पाउने पनि बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार