स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका ७०० गोल….


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, अशोज २८, २०७६

  • एजेन्सी । पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो खेल जीवनको ‘माइलस्टोन’ ७०० औँ गोल पूरा गरेका छन् ।
    रोनाल्डो खेल जीवनमा सात सय गोलको आँकडा पूरा गर्ने छैटौँ फुटबलर बनेका छन् ।

    युरोकप फुटबल २०२० को छनौट अन्तर्गत समूह बी मा रहेको पोर्चुगलका लागि सोमबार राति युक्रेनसँगको खेलमा रोनाल्डोले एक गोल गरेका हुन् । रोनाल्डोले ७२ औँ मिनेटमा पेनाल्टी मार्फत गरेको गोल उनले राष्ट्रिय टिम तथा क्लबका लागि गरेको ७०० औँ गोल बन्यो ।

    रोनाल्डोले पोर्चुगलका लागि गरेको त्यो ९५ औँ गोल थियो । रोनाल्डोले गोल गरे पनि पोर्चुगल युक्रेनसँग २–१ ले पराजित भयो । तर उन खेल जीवनको अति विशिष्ट उचाई पुगेका छन् ।

    रोनाल्डोले राष्ट्रिय टिम तथा क्लबबाट ९७३ खेलमा ७०० गोल गरेका हुन् । ९७३ मध्ये ४५८ खेलमा उनले कम्तिमा एक गोल गरेका छन् ।

    अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचिमा रोनाल्डो दोस्रो स्थानमा छ । राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन् इरानका अली दाइ, उनले १०९ गोल गरेका छन् । रोनाल्डो उनी भन्दा अब मात्रै १४ गोल पछि छन् अर्थात रोनाल्डोले ९५ गोल गरिसकेका छन् ।

    रोनाल्डोले रिलय मड्रिडका लागि ४५०, म्यानचेस्टर युनाइटेडका लागि ११८, युभेन्टसका लागि ३२ तथा स्पोर्टिङ्ग सिपीका लागि पाँच गोल गरेका छन् ।

    रोनाल्डो भन्दा अघि पाँच खेलाडीले ७०० गोलको आँकडा पूरा गरेका थिए । सन् १९३१ देखि १९५५ सम्म खेल जीवनमा सक्रिय रहेका चेक तथा अष्ट्रियन जोसेफ बिक्यान ८०५ गोल गरेका छन् ।

    यस्तै सन् १९८५ देखि २००७ सम्म सक्रिय रहेका ब्राजिलका रोमारिओले ७७२ तथा सन् १९५७ देखि १९७७ सम्म सक्रियय रहेका ब्राजिलकै पेलेले ७६७ गोल गरेका छन् ।

    सन् १९४३ देखि १९६६ सम्म सक्रिय रहेका हंगेरीका फेरिन्क पुस्कासले ७४६ तथा सन् १९६२ देखि १९८१ सम्म सक्रिय रहेका जर्मनीका जेर्ड मुलरले ७३५ गोल गरेका छन् ।

    हालै ७०० गोल पूरा गरेका रोनाल्डो सन् २००२ देखि सक्रिय रहेका छन् । रोनाल्डोपछि सो आँकडाको लाइनमा लियोनल मेस्सी छन् । उनले हालसम्म ६७२ गोल गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार