Featured साहित्य

अज्ञात प्रेमिको इमेल

सृजना लामिछाने
के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु । तिमीसँग कुरा नभएको ठिक आज चार वर्ष पुगेछ । आजभन्दा चार वर्षअघि आजकै दिन तिमीलाइ इमेल गरेको थिएँ । यो बिचको हाम्रो मौन अवधिलाई मैले तोड्ने हिम्मत गरेको छु आज । तिमीले आफुलाई मबाट सम्पर्कबिहिन भएको मा गर्व गर्यौ होला । तर मैले दुखानुभुती गरें । प्रबिधिको यति सहज जमानामा पनि तिमी यसरी भुमिगत छौ कि लाग्छ, आफू जन्मिएको सालतिर बाँचिरहेको छौ ।

तर मैले तिमी सम्पर्कमा नरहेपछिका केही अनुभव सुनाउन यो इमेल लेखेको छु । आशा छ पढ्ने जाँगर निकाल्नेछौ । तिमीलाई नबिर्सिन र मेरो मानसपटलमा उपस्थित गराउन तिमीले दिएका यादका उपहारले यो बिचमा पुलको काम गरे ।  बिग्रेको गाडिले एक्कासि सहि मोड लिए जस्तै तिम्रो सामिप्यतामा हराएको म फेरि एक असल छोरो जो बनेको थिएँ । यद्यपी ममा आइरहने फाट्टफुट्ट फेरबदलले मेरो बुवाआमालाइ खासै फरक पर्दैनथ्यो ।

तिमी हिंडिरहेको बाटो चियाउनु, मिस्डकल गरेर इरिटेड बनाउनु, प्रेमिका भेट्न् हतारिएको प्रेमी जस्तै चट्ट बनेर घुम्तिनेरबाट तिमीलाई तर्साउनु, यी मेरा जानि नजानी गर्ने नखरा हुन्थे । तिमी यति अन्जान बनिदिन्थ्यौ नि मैले हजार पटक सामथ्र्य निकालेर गरेका ति प्रस्तुतिहरु क्षण भरमै ब्यर्थ साबित हुन्थे । तिमी बिहान कलेजबाट घर फर्किने समय मलाई एक गरिब किसानलाई मंसिर लागेपछि बाली भित्र्याउने बेला लाग्ने खुसियाली जस्तो चाखलाग्दो हुन्थ्यो । बिस्तारै तिमीलाई दैनिक देख्न भेट्न मन लाग्न थाल्यो ।

 

म जति नजिक हुन्थें तिमी त्यति टाढिन खोज्थ्यौ । बाटोमै देखेर बस्न लागेको मेरो प्रेम बाटोबाटै रित्तिन लागेको मलाई भान हुँदै थियो । बिस्तारै तिम्रो प्लस टुको क्लास सकिन लागेको थाहा पाउने बित्तिकै म निरास हुन थालें । तिमि बाटोमा देखिन छोड्यौ, तिमीले दिएको फोन नम्बरमा फोन लागेन । तिमी हरायौ । तिम्रो प्रेमको मलाई यस्तो आदत बसेको थियो कि म तिमीलाई नदेखि नहुने भयो । तर , तिमी देखिएनौ कुलतमा फसिरहेको मलाई फेरि प्रेमको नसाले गाँज्न थाल्यो । तिम्रो मप्रतिको बेवास्ताले म बिक्षिप्त हुन पुगें । बिस्तारै मेरो संगत फेरि गलत मानिसहरुसँग हुन थाल्यो । मैले बिचमा पढाई छोडें । मेरो दिनचर्या दिनानुदिन परिवर्तन हुँदै गयो । बेबारिसे लास जस्तै भएँ । केहि समयपछि मैले तिमीलाई बिर्सिएछु । चुरोट, रक्सी हुँदै मेरो एडिक्सन ड्रगसम्म पुग्न थाल्यो । तिमी, परिवार, पढाइ सबै मेरा लागी नौलो हुँदै गए । यस्तो दिनचर्यामा मैले दुई वर्ष फालेको पत्तै भएन । मेरो उपचारका लागि सबै बिधि अपनाइयो । तर, म निको भइनँ । यसमा डाक्टरको काम पनि तिमीले नै गर्यौ । दुई वर्षमा अस्तब्यस्त बनेको मेरो दैनिकी पुन: लयमा फर्कियो ।

तिमी मेरो जीवनमा फेरि एउटा तारा बनेर आयौ । जसले प्रत्येक पटकको झिल्मिलाहटबाट स्वर्गीय आनन्द प्रदान गर्छ । तिमीले दिने हरेक दिनको दुई घण्टा मेरो लागि फाइदाजनक क्याप्सुल साबित भयो । तिमीलाइ देख्दा म त्यसैपनि स्वस्थ्य महसुस गर्थें । उपचार, दवाइ र डाक्टरभन्दा पनि बिरामिलाई हौसला बढाउने आफन्तको भुमिका मैले आफ्नै जीवनबाट थाहा पाएँ ।

 

तुम्ने सुधाराथा तुम्ने बिगाडा है, तुम्ने किया जो किया

यो गीत खुब सुन्छु म अचेल । हरेक दिन तिमीले सुनाउँने जीवन दर्शन र मोटिभेसनले ममा सकारात्मक परिवर्तन हुँदै गयो । बिस्तारै म अझैँ उर्जावान बनें । बाआमाले एउटा मात्र सन्तान जो मरिसकेको जस्तो थियो उहि छोरो फिर्ता पाएको महसुस गरे । भिड्भाड, आफन्त इस्टमित्रसँग नझ्याम्मिने, सामाजिक संस्कारको मतलब थिएन मलाई । अर्को अर्थमा भन्दा एन्टिसोसियल थिएँ म । तर, तिमीसँगको संगतले बिस्तारै फरक हुँदै गएँ । आफु, परिवार र नातागोतामा चिनिन थालें । तिमीले मेरो लागि भन्दा नि परिवारको लागि यति ठूलो गुन लगायांै कि तिमीलाई बुहारीको रुपमा अपनाउने रहर लागे पनि तिमीसँग त्यो प्रस्ताव राख्न कहिल्यै सकेनन् मेरा बाआमाले । प्रिया तिमी उनीहरुका लागि धेरै माथी छौ र मेरो लागि त्यो भन्दा पनि माथी ।

तिमी म भन्दा आठ सालपछि जन्मियौ । तर, तिमीभन्दा अठ्चालीस वर्ष बढी बाँचेको मान्छेको जस्तै जीवन दर्शन सिकायौ । तिमीले विश्वास नगर्ने दुई जवान युवा युवतीबिचको प्रेमबाहेक अरु सबै जीवन दर्शन मन पर्छन् मलाई । रिस र ईष्र्या नगर्ने, आफ्नो कर्ममा विश्वास गर्ने, दु:खमा नआत्तिने, आफ्नो लक्ष्यप्रती दृढताका साथ लागिरहने । तिमी मेरो लागि एक स्त्री मात्र नभएर जीवन दर्शन पनि हौ प्रिया । प्रिय म भौतिक उपस्थिीति बेगर रमाएको मान्छे जो एकादेशको कथा बाहेक अरु लभ स्टोरिमा सम्भव छैन । र, सान्दर्भिक पनि । तर के गरुँ ? यसबिचको सान्दर्भिकता खोज्न हिंडे भने मैले बनाएको तिमी र म बिचको भर्चुअल संसार गुम्ने जोखिम मोल्नु भन्दा भईरहेकै काल्पनिक संसार उत्तम लाग्छ । तिमीले म निको भएपछि पनि मेरो केयर गरिरह्यौ फोनमा दिनहुँ गफिने तिमी आफ्नो भविष्यबारे कहिल्यै बोलिनौ । तर, म जवरजस्ति तिमीलाइ ममा समाहित गराउने कोसिस गर्थें । तिमी हाम्रो भविष्य सम्भव नहुने कुरा बारम्बार दोहोर्‍र्याइरहन्थ्यौं । हाम्रा निस्कर्ष बिहिन संवादहरु कयौं रात यत्तिकै टुङ्गिन्थे । तथापि निभिसकेको दियोमाथी तेल थप्ने अभ्यास मेरो हुन्थ्यो ।

तिम्रो जन्मदिनको दिनमा हामीबिच निकै लामो कुराकानी भएको म सम्झिरहन्छु । तिमीबिनाको अरुसँगको वैवाहिक सम्बन्ध कल्पना गर्नु त टाढाको कुरो म मेरो अस्तित्व पनि बिर्सनेछु भनिरहँदा तिमी निकै बेर हाँसेकि थियौ । भोलिपल्ट मैले उही वाक्यांश सम्झाइरहें । बिर्सिएको लयमा कुन डाइलग रे ? भनेकि थियौ । त्यति बेलाको मेरो मनोभावना अहिलेसम्म पनि उही छ । मैले तिमीपछि कसैलाई प्रेमिका वा जीवनसाथिका रुपमा पाउने चाहाना पनि गरिनँँ । र, गर्ने छैन पनि । आधा–आधि जीवन बाँचिसकियो । बाँकि जीवन नयाँ पात्र खोज्न र बुझ्नतिर खर्चिनु भन्दा एक्लै रमाउनु बेश । तिमीले मैले के चाहन्छु भन्ने कहिल्यै नबुझेपनि, ममा आएको परिवर्तनको श्रेय तिमिलाइ नै जान्छ प्रिय । शब्दहरुले तिम्रो महानताको वर्णन गर्न कहाँ सक्छन् र ? त्यहि पनि मेरो भावना तिमीसामु पुर्‍र्याउने यि शब्दहरु र माध्यमको रुपमा इमेलले पनि तिमीले जस्तै काम गरेका छन् । डियर यु आर रियल्ली ग्रेट् ।

तीतो त्यसपछि मिठो बनेको मेरो जीवनको अनुभवबाट मैले आफुलाई अलग्याएर अष्ट्रेलिया आएको आज नौ वर्ष बितेछ । थाहा छैन तिमीसँग अब भेट हुन्छ हुँदैन तर, तिमीले सिकाएको सत्यताको पाठलाई मैले सदैव अनुशरण गरें भने मात्रै म एक निस्वार्थ प्रेमी साबित हुनेछु । जसको मुल्यांकनकर्ता केबल म स्वयं हुं । तिमीले मेरा लागि पुर्‍याएको योगदानको म सदैब कदर गर्नेछु ।

उहि तिम्रो अज्ञात प्रेमि ।

आफ्नो प्रतिक्रिया जनाउनुहोस्