आजदेखी ‘जनतासँग प्रधानमन्त्री’ चार च्यानलबाट प्रसारण हुँदै


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, साउन २, २०७५

  • काठमाडौं, साउन २ । आजदेखि ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रम प्रसारणमा आउने भएको छ । मनोज पाण्डे प्रस्तोता रहेको यो कार्यक्रम नेपाल टेलिभिजनलगायत एपी वान एचडी, हिमालय टेलिभिजन र एबीसी टेलिभिजनबाट बेलुका ९ बजे एकैसाथ कार्यक्रम प्रसारण हुने भएको हो ।

    ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम निर्माणका लागि अनुसन्धानकर्ता, प्रोफेसर, पत्रकार, स्टोरी एडिटर, प्राविधिक, पब्लिसिटी र व्यवस्थापकीय गरी १५ जनाको समुह निर्माण गरिएको छ । त्यसबाहेक आवश्यकता अनुसार राष्ट्रिय योजना आयोग, तथ्यांक विभाग, विषयगत मन्त्रालय तथा विश्वविद्यालयहरूलाई समेत अध्ययन–अनुसन्धानका लागि अनुरोध गर्ने योजना रहेको कथा नेपालले बताएको छ ।

    कार्यक्रमका लागि लाग्ने सबै खर्चको स्रोत व्यवस्थापन कथा नेपाल आफैंले गर्ने बताएको छ । ‘जनतासँग प्रधानमन्त्री’ मा कुनै पनि आयातित सामान, गुणस्तर विभागले गुणस्तरीय नठहर्‍याएका सामान, स्वास्थ्यमा प्रतिकूल असर पार्ने जंकफुड, भ्याट, ट्याक्स वा यस सम्बन्धी कानूनी झमेलामा फसेका कम्पनीको उत्पादन र सेवाको विज्ञापन नबजाइने बताइएको छ ।

    ‘हामी चाहन्छौं– स्वस्थ व्यापार गर्ने र स्वच्छ व्यवसाय चलाउने तथा रोजगारी सिर्जना गर्ने उद्यमीले ‘जनतासँग प्रधानमन्त्री’ मा विज्ञापन बजाउँदा आफ्नो प्रतिष्ठा बढेको महसुस गरुन्,’ कार्यक्रम प्रस्तोता तथा निर्माता मनोज पाण्डेले भने ।

    एक घण्टा लामो यो कार्यक्रमको निर्माण कथा नेपालले गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार