
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विक्रम संवत् २०७५ सालको हेमबहादुर मल्ल सम्मान वरिष्ठ छाती रोग विशेषज्ञ डा. गौरीशङ्कर लाल दासलाई प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक समारोहमा राष्ट्रपति भण्डारीले चिकित्सा र सामाजिक सेवामा पुर्याउनुभएको योगदानको कदर गर्दै डा.दासलाई सम्मान गर्नुभएको हो ।
नेपाल जनप्रशासन सङ्घसँगको समन्वयमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडद्वारा स्थापित सम्मानको पुरस्कार राशी रू २ लाख र सम्मान पत्र रहेको छ ।सम्मान कार्यक्रमपछि आयोजित कार्यक्रममा पूर्व मन्त्री माधव पौडेल, नेपाल जनप्रशासन संघका पूर्व अध्यक्ष चुडाराज उप्रेती, साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलगायतले सम्मानित व्यक्तित्व डा. दासले पुर्याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।