काठमाडौँ, २२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाउने सन्दर्भमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
उहाँले नेपालको संविधानको धारा १०५ को व्यवस्था र प्रतिनिधिसभा नियमावलीअनुसार सांसदलाई संयमित हुँदै प्रस्तुत हुन आग्रह गर्नुभएको थियो । उहाँले विधि प्रक्रिया सम्मत तरिकाबाट सदनमा आफ्ना धारणा राख्न आग्रह गर्दै बैठक सञ्चालनका लागि सहयोग गर्न पनि अनुरोध गर्नुभएको थियो । संसद्मा नियमित अवरोधका कारण सभाले गर्नुपर्ने महत्वपूर्ण कार्य प्रभावित भएको भन्दै सभामुख सापकोटाले जनसरोकारका विषयलाई ध्यान दिन सदनलाई सुचारु गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
नेकपा (एमाले) ले अधिवेशन प्रारम्भ भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसद्मा अवरोध जारी राखेको छ । प्रतिनिधि सभाको अर्को बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्नेछ ।