केराको एउटै बोटले व्यवसायी बन्न प्रेरणा दियो भट्टराईलाई


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, कार्तिक २२, २०७८

  • वालिङ, २२ कात्तिक । स्याङ्जाको गल्याङ नगरपालिका–११ शिखरडाँडाका लेखनाथ भट्टराईले आफन्तकोबाट एउटा केराको बोट घरमा ल्याएर लगाउनुभयो । बारीमा लगाएको एउटै बोटले राम्रो फल दिनका साथै अन्य बिरुवा पनि उत्पादन गर्न सहज भएको देखेपछि त्यसलाई आम्दानीको मुख्य स्रोत बनाउने निधो गर्नुभयो । गल्याङ– ११ दिमिकस्थित आफ्नै खेतमा परीक्षणका लागि लगाएको थप केराका बोटबाट राम्रैसँग उत्पादन दिन थालेकाले आठ वर्षअघि ‘आनन्द कृषि तथा पशुपालन फर्म’ दर्ता गर्नुभएको थियो ।

    जग्गा जमिन भएर पनि सही सदुपयोग गर्न नसकिरहेका बेला त्यो एउटै बोटको केराले आफूलाई व्यवसायी बन्ने प्रेरणा मिलेको उहाँले बताउनुभयो । “जग्गा जमिन भए पनि त्यसको सही सदुपयोग गर्न सकिरहेका थिएनौं” भट्टराईले भन्नुभयो, “धान, गहुँ, मकैलगायत बालीबाट भन्दा केराबाट राम्रो आम्दानी गर्न सकिने ठानेर केरा खेतीलाई व्यावसायिकरुपमा अगाडि बढाएको हुँ ।” सुरुका वर्षमा झण्डै रु चार लाखको लगानीमा केरा खेती सुरु गर्नुभएका उहाँले दोस्रो वर्षदेखि वार्षिक रु छ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

    केरा खेती नै भट्टराईको अहिलेको मुख्य आम्दानीको स्रोत बनेको छ । “केरा जति मात्रामा उत्पादन भएपनि बजारीकरणका लागि अहिलेसम्म कुनै समस्या छैन” उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएको केरा नजिकैको गल्याङ बजारमा खपत हुँदै आएको छ ।”भट्टराईको फर्मअन्तर्गत अहिले ‘झापाली मालभोग’ ‘विलियम हाईब्रेड’ र ‘जी नाईन’ जातका पन्ध्र सयभन्दा बढी केराका बोट छन् ।

    व्यावसायिक हिसाबले ठूलो मात्रामा केराखेती गर्नुभएका उहाँको फर्ममा केरा खेतीकाबारेमा चासो दिनेहरू अध्ययन अवलोकनका लागि आउने गरेका छन् । यहाँ आएर हेरेर, बुझेर फर्किएसँगै आ–आफ्नो ठाउँमा फर्केर व्यावसायिकरूपले केराखेती थाल्नेहरू प्रशस्तै रहेका उहाँले जानकारी दिनुभयो । केराखेती थालेपछि आफूसहित स्थानीयवासीले पनि रोजगारी पाएको भट्टराईले जानकारी दिनुभयोे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार