काठमाडौं, अशोज २१ । कविता विधामा सुनिएको नाम हो– हेम प्रभास । गत वर्ष उनले उपन्यास सार्बजनिक गरेका हेम अब निर्देशक रुपमा परिचय बनाउन कस्सिएका छन् । उनले नेपाली कवितामाथि भिडियो निर्माण गरेका छन् । नाटक तथा उपन्यासका केहि भिडियोहरु निर्माण भएपनि नेपाली कविता माथि भने भिडियो निर्माण भएका थिएनन् । गत शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी कवितामाथिको पहिलो म्यूजिक भिडियो प्रदर्शन गरियो । उक्त भिडियोमा कलाकार पुष्पल खड्का र वर्षा शिवाकोटीको अभिनय रहेको छ ।
कवि विकास थापाको ‘ओकलेर आगो’ कविता संग्रहभित्रको एउटा कविता ‘बुझ्नै सकिनँ आज तिमीलाई’ शीर्षकको कवितालाई अधिकारीले श्रव्य, दृश्यमा उतारेका हुन् । शनिबार प्रशर्दन गरिएको उक्त भिडियो आउँदो शनिबार युट्युब रिलिज गरिने हेमले बताएका छन् ।
यस भिडियोमा कविता वाचन पनि हेम आफैले गरेका छन् । उक्त भिडियो प्रदर्शनका क्रममा कवि विकास थापाद्वारा लिखित कविता कृति ‘ओकलेर आगो’ उनकै आमाले सार्वजनिक गरिन् । आप्रवासी कवी थापाकी आमाको विशेष आतिथ्यसँगै बुक सेलर प्रकाशनका प्रमुख प्रल्लास सिन्धुलीयको सभापतित्वमा सम्पन्न कार्यक्रममा लोकार्पित कृतिमा जम्मा ५९ वटा कविता संग्रहीत छन् ।
प्रकाशित कृतिमाथि आफ्नो धारणा राख्ने क्रममा कवि प्रभाती किरणले कृति भित्रका ५९ वटा कवितामा जात, धर्म, माया, प्रेम, पीडा, बिछोड लगायत समाजमा देखिने सबै विषयलाई समेट्न सकिएको एक उत्कृष्ट कृतिका रूपमा औंल्याए ।
त्यसैगरी अर्का समालोचक दाहालले यो कृतिमा मानिसको मष्तिष्कको मात्रै अध्ययन नभएर युगिन अवस्था, इतिहास, क्रान्ति, आदिको पनि राम्रोसाग अध्ययन गरिएको र उनका कवितामा कुनैपनि गणितले प्रमाणीत गर्न नसक्ने तत्थ्यहरू समेटिएको भन्दै आफ्नो धारणा राखेका थिए ।
कवि थापाका यस अघि फूलमाथिको जून, मौनताका सुस्केराहरू र दशगजाको वरिपरि गरी तीन कवितासङ्ग्रह प्रकाशित भइसकेका छन् ।