विश्वकप क्रिकेट छनोट : क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन ९, २०७८

  • काठमाडौँ, ९ फागुन । आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ । क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई सहजै पराजित गरेको हो । जितसँगै नेपाल समूह ‘बी’ को विजेता बनेको छ ।

    एकासी रनको विजयी लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ३४ रनको योगदान दिए । भुर्तेलले ३७ बल खेल्ने क्रममा तीन चौकासमेत प्रहार गरे । यस्तै दीपेन्द्रसिंह ऐरी ३१ बलमा २७ रन बनाउँदै अविजित रहे भने आसिफ शेखले १७ रन बनाए । बलिङतर्फ क्यानडाका कलिम साना र सलमान नाजरले एक–एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको क्यानाडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन मात्र बनायो । क्यानाडाका डिलोन हेलिगरले अविजित रहँदै २४ रनको योगदान दिए । कप्तान नभनित धालिवालले १८, रायन पठानले १४ तथा सलमान नाजरले १० रन बनाए । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । उनी प्लेयर अफ दी म्याचसमेत भए । यस्तै अविनाश बोहरा र कमलसिंह ऐरीले दुई–दुई तथा कुशल मल्लले एक विकेट लिए । जीतसँगै तीन खेलमा ६ अङ्क जोड्दै नेपाल समूह विजेता बन्यो । यस्तै ओमान तीन खेलबाट चार अङ्क जोडेर समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ ।

    क्यानडा र फिलिपिन्स भने प्रतियोगिताबाट बाहिरिएका छन् । अब नेपालले मङ्गलबार सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्नेछ । यस्तै अर्को मङ्गलबार नै अर्को सेमिफाइनल ओमान र आयरल्यान्डबीच हुनेछ । फाइनल प्रवेश गर्ने दुवै टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आइसिसी पुरुष टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार