सुदूरपश्चिम प्रदेश प्रमुख मल्ल आईसीयूमा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन ६, २०७५

  • धनगढी , फागुन ६  ।धनगढी- सूदुरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ल विरामी भएपछि उनलाई आइतबार राति काठमाण्डौं लगिएको छ । ज्वरो आएपछि प्रदेश प्रमुख मल्ललाई आइतबार बेलुकी धनगढीको निसर्ग अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो ।

    प्रदेश प्रमुखको फोक्सो र रगतमा इन्फेक्सन देखिएको निसर्ग अस्पतालका चिकित्सक वरिष्ठ फिजिसियन डाक्टर विजय केसीले बताए। उनले प्रदेश प्रमुखको प्रतिरक्षा शक्ति कमजोर भइ  निमोनिया पनि देखिएकाले काठमाडौं रेफर गरिएको बताए ।

    प्रदेश प्रमुख मल्ललाई नेपाली सेनाको नाइटभिजन हेलिकप्टरले गएराति डेढ बजे नै काठमाडौं लगेको छ । राति धनगढी एयरपोर्टमा अवतरण भएको हेलिकप्टरले आज विहान साढे तीन बजे काठमाडौं पुर्‍याएको प्रदेश प्रमुख मल्लका स्वकीय सचिव धन सिंहले जानकारी दिए ।

    प्रदेश प्रमुख मल्लको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । नेपाल प्रहरीको अस्पतालमा पनि सघन उपचार कक्षमै मल्लको उपचार भइरहेको छ । चिकित्सकहरुले उनको छातीमा इन्फेक्सन देखिएको तर अवस्था चिन्ताजनक नरहेको बताएको स्वकीय सचिव धनसिंहले बताए । प्रदेश प्रमुखका साथमा श्रीमती सरिता मल्ल पनि काठमाडौँ गएकी छिन ।
    प्रदेश प्रमुख मल्लका एक मात्र छोरा दीक्षान्त मल्ल पोखराका होटल व्यवसायी हुन । उनी सोमबार काठमाडौँ पुग्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार