बाडभञ्ज्याङमा बिसे नगर्चीको शालिक निर्माण


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, चैत्र १९, २०७८

  • चन्द्रागिरि नगरपालिकाको बाडभञ्ज्याङमा बिसे नगर्चीको शालिक निर्माण गरिएको छ । बिसे नगर्ची स्मृति वाटिका निर्माण समितिले नगर्चीको पूर्ण कदको शालिक निर्माण गरी आज अनावरण गरेको हो । विसं १७४६ मा जन्मिएका नगर्चीले राज्य एकीकरणका क्रममा राष्ट्रमा आर्थिक सङ्कट परेको समयमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई एक रुपैयाँको ढ्याक दिई गोरखाका १२ हजार घरधुरीबाट एक-एक रुपैयाँ उठाउन सुझाव दिनुभएको थियो ।

    नगर्चीले पृथ्वीनारायण शाहलाई कासीमा हतियार किन्न जाँदा श्रीहर्षसँगै लिएर जान र कालु पाँडेलाई राज्यको मूल काजी बनाउन सुझाव दिनुभएको थियो । प्रतिनिधिसभाका सांसद अञ्जना विसंखेले बिसे नगर्ची कुनै एउटा समुदायको मात्र नभएर सिङ्गो राष्ट्रको व्यक्ति भएकाले राज्यले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । समितिका अध्यक्ष दिनेश परियारले बिसे नगर्चीलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गर्नुभयो ।

    करिब रु ६० लाखको लागतमा शालिक निर्माणसँगै बाटिका निर्माण गरिएको हो । त्यसैगरी आजै बाडभञ्ज्याङ स्वास्थ्य चौकी भवन र घट्टे डाँडा पार्कको आज उद्घाटन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार