लैङ्गिक हिंसा र असमानताविरुद्ध समाचार लेख्न प्रदेश प्रमुख शेरचनको सुझाव


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, बैशाख १०, २०७९

  • लुम्बिनी, १० वैशाख । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजमा भएका लैङ्गिक हिंसा र असमानताविरुद्ध निरन्तर समाचार लेख्न सुझाव दिनुभएको छ । महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दूषित बनाएको उल्लेख गर्दै उहाँले यसविरुद्ध महिला पत्रकारले अभियानका रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । सञ्चारिका समूह लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको ‘आम सञ्चार र महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रदेश प्रमुख शेरचनले पत्रकार देशको सम्मानित पेशा भएकाले यसमा स्थापित हुनका लागि आफ्नो सीप र क्षमता बढाउँदै जानुपर्ने सुझावसमेत दिनुभयो ।

    प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले सामाजिक न्याय, लैङ्गिक र महिलामैत्री समाज निर्माणका लागि सञ्चारमा महिलाको दरिलो उपस्थिति हुनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा उपसभामुख कृष्णी थारुले यो वा त्यो भन्दै पछिल्लो समय संविधानले महिलालाई दिएको अधिकारसमेत खोस्ने काम भएकाले त्यसविरुद्ध आवाज उठाउन आग्रह गर्नुभयो । कानून महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले प्रदेश सरकारले हरेक बजेटलाई लैङ्गिकमैत्री बनाउन पछिल्लो समयमा सरोकारवालासँग छलफलसमेत थालेको बताउनुभयो ।

    सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेतले लैङ्गिकमैत्री समाचार, त्यसको उठान, स्रोत पहिचान, व्यावसायिक सीप विकास, स्थानीय तहको निर्वाचन र महिलाका समाचार विषयमा चर्चा गर्नुभएको थियो । उहाँले व्यावसायिक सीप र क्षमता बढाउँदै महिला पत्रकार प्रतिस्पर्धामा उत्रिरहेका छन् तर पुरुषको तुलनामा उनीहरुलाई स्थापित हुन समस्या र चुनौती हुने भए पनि समाधान गर्दै अगाडि बढ्न सुझाव दिनुभयो । सोही समूहकी लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले लैङ्गिकमैत्री समाचार र त्यसको उठानबारे अभ्यास गराउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका पाँच दर्जनभन्दा बढी महिला पत्रकार सहभागी भए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार