एनएनटिभी सर्टस् कार्यक्रम शुभारम्भ


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार २३, २०७९

  • काठमाडौँ, २३ असार । परीक्षण प्रसारणमा रहेको नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी)ले नयाँ कार्यक्रम एनएनटिभी सर्टस् (मेरो कथा, मेरो सिनेमा) कार्यक्रम शुभारम्भको घोषणा गरेको छ । नेपाली लघु चलचित्रमार्फत आम दर्शकलाई मनोरञ्जनका साथ नयाँ चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतिस्पर्धा आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    एनएनटिभी सर्टस्को भिडियो शुभारम्भ गर्दै वरिष्ठ हास्य कलाकार सन्तोष पन्तले नेपाली फिल्म उद्योग र यसमा आबद्ध सम्पूर्णलाई प्रोत्साहन गर्न टेलिभिजन उपयोगी हुने भन्दै नेपाली फिल्मलाई बलियो छत्रछायाँ दिन सफल होस् भनी कामना गर्नुभयो । हाल परीक्षण प्रसारणमा रहेको एनएनटिभी अबको तीन महिनाभित्र औपचारिक प्रसारणमा आउने टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेश डिसीले जानकारी दिनुभयो ।

    वरिष्ठ कलाकार सुनिल थापाले नेपाली चलचित्र हेर्ने बानी बसाल्न र चलचित्र उद्योगलाई प्रवद्र्धन गर्न सहयोग गरिदिन दर्शकलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली फिल्म हेर्ने बानी बसालिदिनुस्, नेपालीले नेपाली फिल्म हेरेमात्रै चलचित्र उद्योग बचाउन सकिन्छ, फिल्म झुर रहेछ भने पनि गाली गर्नुस् हामी स्वीकाछौँ ।” चलचित्र निर्देशक दीपेन्द्र के खनालले छोटो चलचित्र लामो चलचित्रको यात्रा गराउने माध्यम भएको भन्दै यसले नयाँ प्रतिभाको परीक्षण र प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो । नायिका पूजा शर्माले कार्यक्रमले लघुचलचित्रमार्फत मनका कथाहरु आम जनतामाझ प्रस्तुत गर्न युवापुस्तालाई आकर्षण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    लघुचलचित्र प्रतिस्पर्धामा सहभागिताका लागि लघुचलचित्र निर्माण गर्न चाहने व्यक्ति वा समूहले आफ्नो स्क्रिप्टको संक्षिप्त स्वरुप (कथासार) अनलाइन http://nepalnetworktv.com/ मार्फत वा कार्यालयमा उपस्थित भएर आवेदन दिन सकिनेछ । उक्त स्क्रिप्ट छनोट भइसकेपछि टेलिभिजनले निर्माण अनुमति प्रदान गर्नेछ भने अनुमतिप्राप्त व्यक्ति वा समूहले प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । कार्यक्रमको निर्णायकमण्डलमा सुनिल तथा पूजा शर्मा र दिपेन्द्र के खनाल रहनुभएको छ । आगामी साउन २० गतेसम्म स्क्रिप्ट दर्ता गरी साउन २५ गते स्क्रिप्ट छनोट तथा निर्माण घोषणा गरिने आयोजकले जनाएको छ ।

    उक्त कार्यक्रम नेपाल नेटवर्क टेलिभिजनबाट असोज १ गतेबाट हरेक दिन प्रसारण हुने र कात्तिक १ गते पत्रकार सम्मेलनमार्फत विजेता घोषणा गरिने जनाइएको छ । विजेतालाई क्रमशः प्रथम रु दुई लाख, द्वितीय पुरस्कार रु एक लाख ५० हजार र तृतीय पुरस्कार रु ५० हजार साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै उत्कृष्ट १० जनालाई नगद रु १० हजार तथा प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट पाँच लघुचलचित्रकर्मीलाई डीएआर मुभिजबाट निर्माण हुने चलचित्रहरूमा तथा एनएनटिभीबाट निर्माण हुने टेलिचलचित्रमा प्राथमिकताका आधारमा काम गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार