दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, साउन ३०, २०७९

  • काठमाडौँ, २९ साउन । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा शनिबार सुरक्षाकर्मी चढेको लु १ झ ६६० नम्बरको जीप सडकबाट झण्डै ८० मिटर तल खसेर दुर्घटनामा हुँदा एक प्रहरीको मृत्यु भयो भने केही गम्भिर घाइते भए । उनीहरुलाई सरकारले तत्कालै हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍यायो । भौगोलिक हिसाबले विकट क्षेत्रमा भएको उक्त दुर्घटनापछि तत्काल हेलिकप्टरबाट उद्धार नगरिएको भए अझै केही सुरक्षाकर्मीले ज्यान गुमाउन सक्थे ।

    गत असार २१ गते रामेछापको सुनापाती गाउँपालिका–५ स्थित लुभुघाटमा कच्ची सडकको ठूलो घुम्तीमा हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नम्बरको यात्रुवाहक मोडिन नपाइ एक्कासी भिरबाट खस्दा १३ जनाले ज्यान गुमाए । त्यस दुर्घटनामा धेरै यात्रु गम्भिर घाइते भएका थिए । स्थानीयका अनुसार अघिल्लो दिनमात्रै सामान्य कसकास गरेर राखिएको बसको अवस्था राम्ररी जाँच नगराउँदा बस दुर्घटनामा परेको हो । प्रहरीले पनि सवारी साधनको कमजोर अवस्थाका कारण ब्रेकले काम नगर्दा यात्रुले अकालमै ज्यान गुमाउन पुगेको प्रारम्भिक निष्कर्ष निकालेको थियो । नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नहुनु, सवारीसाधनको सङ्ख्या वृद्धि हुनुलगायतका कारणले दुर्घटना बर्सेनि बढिरहेका छन् । प्रहरीमा रहेको अभिलेख विश्लेषण गर्दा पनि दुर्घटना र मृत्यु तथा घाइतेको ग्राफ बढ्दो छ । पछिल्लो १० वर्षको तथ्याङ्क केलाउँदा सवारी दुर्घटना सङ्ख्या झण्डै तेब्बरले बढेको छ ।

    दुर्घटनाबाट मानवीय क्षति (मानिसको मृत्य) पनि निक्कै बढेको पाइएको छ । दश वर्षअघि (आव २०६८/६९) को तथ्याङ्कमा कुल आठ हजार ९२ दुर्घटना भएका थिए । त्यसमा १४ हजार दुई सय ८७ सवारी साधन परेका थिए । दुर्घटनामा एक हजार आठ सय ३७ को मृत्यु र चार हजार १९ जना गम्भिर घाइते भएका थिए । ठिक त्यसको १० वर्षपछि आर्थिक वर्ष २०७८/७९ को अभिलेखानुसार सवारी दुर्घटना ह्वात्तै बढेर २४ हजार पाँच सय ३८ पुग्यो । उक्त साल ३९ हजार तीन सय ७९ सवारी साधन दुर्घटनामा परे । ती दुर्घटनाबाट कुल दुई हजार आठ सय ८३ जनाको मृत्यु भयो भने सात हजार दुई सय ८२ यात्रु गम्भिर घाइते भएका छन् ।

    दश वर्ष अघिको एक वर्ष र १० वर्षपछिको एक वर्षको तथ्याङ्क हेर्दा दुर्घटना सङ्ख्या १६ हजार चार सय ४६ ले बढ्यो भने मानवीय क्षति एक हजार ४६ ले बढी देखियो । ती दुर्घटनामा संलग्न रहेका सवारी साधान हेर्दा झण्डै आधा मोटरसाइकल परेको देखिएको छ । आर्थिक वर्ष २०७८/७९ का कुल ३९ हजार तीन सय ७९ सवारी साधन दुर्घटना हुँदा मोटरसाइकल मात्रै १९ हजार नौ सय ७४ परेको प्रहरी प्रधान कार्यालयको विवरणमा उल्लेख छ । त्यसपछि दोस्रोमा जीप/कार आठ हजार नौ सय ७५, त्यसपछि बस दुई हजार सात सय ८६ र चौथोमा ट्रक/ट्याङ्कर दुई हजार चार सय ७६ दुर्घटना भएको अभिलेख छ । दुर्घटनामा परेका सवारी साधनमध्ये आधा मोटरसाइकल छन् ।

    त्यसकारण यातायातका साधनमा सबैभन्दा बढी जोखिम मोटरसाइकल र त्यसपछि जिप/कार रहेको विवरणले पुष्टि गर्छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह प्रहरीको दुर्घटना न्यूनिकरण अभियानका बीच नै दुर्घटना बढ्दो क्रममा रहेको बताउनुहुन्छ । प्रहरी प्रधान कार्यालयले हालै गरेको तीन महिनाको तुलनात्मक अध्ययनले झन् बढी दुर्घटना बढेको देखाएको छ । गत वर्ष र अहिलेको वैशाख, जेठ असार (तीन महिनाको तुलना मा यसवर्ष सोही अवधिमा ६३.४२ प्रतिशतले दुर्घटना बढेको छ भने मानिसको मृत्यु ३१.५९ प्रतिशतले वृद्धि भएको छ । उक्त तथ्याङ्कले सवारी दुर्घटनाको स्थिति भयावह हुँदै गएको प्रष्ट हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार