सुदूरपश्चिममा गौरा पर्वको रौनक, नानी गौरा मनाइयो


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, भदौ १६, २०७९

  • बैतडी, १६ भदौ । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पर्व सुरु भएसँगै यहाँ रौनकता छाएको छ । पौराणिककालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवीअर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको संस्कृतिका जानकारी जयानन्द भट्टले बताउनुभयो । यो पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् ।

    गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन महिलाले निराहार रही आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेँडागुडी भिजाउने गर्छन् । यहाँका महिलाले गहँु, केराउ, गहत, मास र गुरुस मिसाएर तामाका भाडामा भिजाउँछन् । यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ । चार दिनसम्म मनाइने गौरा पर्व तिथि घटबढका कारण यसपालि तीन दिनमात्रै हुने भएको छ । दोस्रो दिन मनाइने ‘नानी गौरा’ पनि आजै मनाइएको छ । बर्तालु महिलाहरुले आजै भिजाएका बिरुडा (पाँच प्रकारका अन्न) लाई नजिकका धारा, तलाउमा लगेर धोएका छन् ।

    आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रहिआएको छ । सवाँ, अपामार्गलगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका फुनडी विष्टले बताउनुभयो । बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूल पनि गौरादेवीमा चढाउने प्रचलन रहिआएको छ । आज दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझपख मिठो मसिनो खानुका साथै बिरुडा र फलफूलसहित बर्तालु महिलाले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्ने गरेका छन् । दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो ।

    भोलि सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । भोलि नै महिलाले धारणा गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन धारण गर्ने चलन रहिआएको छ । तागाधारी पुरुषले जनै धारण गरेजस्तै सुदूरपश्चिममा महिलाले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् । गौराको समयमा सामूहिकरूपमा देउडा, ठाडो खेल, ढुस्को, धमारीलगायतका सांस्कृतिक खेल खेलिने गर्दछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार