मध्यपुरथिमिमा आज मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज २०, २०७९

  • भादगाउँ, २० असोज । बडादसैँको एघारौँ दिन पापाङ्कुशा एकादशीको अवसरमा आज मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सुरु हुँदैछ । तत्कालीन राजदरबारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिन्छ ।

    दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले जामा लगाई खड्ग, ढाल र तरबार हातमा बोकेर नगरका विभिन्न टोलमा तत्कालीन युद्धकला प्रदर्शन गर्दछन् । तत्कालीन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो ।

    जात्रामा दसैंको नवमीमा तलेजु भवानीलाई चढाइएको बलि र कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराइन्छ । विशेष गरी यो जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष सम्लग्नता रहन्छ । जात्रामा महानवमीको राति तलेजुमा बलि दिइएको खःम्येको (राँगाको) टाउकोलाई समेत नगर परिक्रमा गराई प्रदर्शन गरिन्छ ।

    जात्राका अवसरमा बालकुमारी भुईंफसी (कुभिन्डो) मार हानेर बलि दिइन्छ । बलि दिइएको कुभिन्डो प्रसादको रुपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेको छ । जात्राको अन्तिममा भुईंफसी (मार हान्ने) भएकाले यसलाई भुईंफसी पालेगु जात्रा पनि भनिन्छ । जात्रा अवलोकनका लागि स्थानीयवासीको ठूलो भीड लाग्ने गर्दछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार