छठका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, कार्तिक १२, २०७९

  • कैलाली, १२ कात्तिक । सूर्य भगवान्को पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट बेहुली झै सिङ्गार्न थालिएको छ । आस्थाको महापर्व मानिएको छठको तयारीका लागि धनगढीको मोहना घाट एक साता अघिदेखि पूरै सरसफाइ गरी झकीझकाउ बनाइएको छ । पूजास्थल सजावटका लागि बच्चादेखि बृद्धसम्मका मानिसहरु जुटेका छन् । घाटमा पूजा गर्नका लागि झन्डै पाँच सय जति पूजाकक्ष निर्माण गरिएको श्री छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिनुभयो ।

    निर्माण गरिएका पूजास्थलमा टेन्ट, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी मालालगायतले सजावट गर्नाका साथै सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न ठूलो पण्डाल पनि निर्माण गरिएको छ । मोहना घाट पूजास्थलमा भक्तजन तथा दर्शनार्थीहरुको प्रवेशका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । सूर्य भगवान्को प्रतिमालगायत विभिन्न देवीदेवताको प्रतिमाको निर्माण भइरहेको छ । देवीदेवताका प्रतिमा निर्माणका लागि नेपालको पूर्वी भेगबाट कालिगढ ल्याई प्रतिमा निर्माण तथा सिङ्गारपटार गरिएको छ ।

    मोहना घाटमा सांस्कृतिक कार्यक्रम, भजनकीर्तन, विभिन्न झाँकीको प्रस्तुति रहने आयोजक श्री छठ पर्व सेवा समितिले जनाएको छ । भजनकीर्तन, गायन तथा विभिन्न कार्यक्रमहरुको प्रस्तुतिका लागि छिमेकी मुलुक भारतबाट कलाकारसमेत निम्त्याइएको छ । छठ पूजाका लागि रु ११ लाख लाग्ने अनुमान गरिएको छ ।

    यसपालि कोरोनाको महामारी नभएकाले पर्व मनाउन निकै सहज भएको बर्तालुहरु बताउँछन् । यो वर्ष कोभिड–१९ को सङ्क्रमणको महामारी न्यून भइसकेकाले बर्तालु र दर्शनार्थीहरुको भीडभाड निकै बढ्न सक्ने आयोजकले अनुमान गरेको छ । यस पर्वको प्रारम्भ हिजो बर्तालुहरुले ‘नहाय–खाय’ विधिबाट सुरु गरेका छन् । छठ पर्व कात्तिक १३ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिई सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन गर्ने गरिन्छ । विगत लामो समयदेखि छठ पूजा सेवा समितिले धनगढीको मोहना घाटमा छठ पूजाको आयोजना गर्दैै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार