लोकतान्त्रिक बाम गठबन्धनबाट सर्लाही–३ का उम्मेदवार नरेन्द्र साहले सार्वजनिक गरे प्रतिबद्धतापत्र, [पूर्ण पाठसहित]


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, कार्तिक १९, २०७९

  • सर्लाही, १९ कात्तिक । सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा माओवादी केन्द्रका नेता नरेन्द्र साहले शनिबार प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उनले कृषि, स्वास्थ्य, खेलकुद पर्यटन र शिक्षा तथा रोजगारलाई प्राथमिकतामा राखेका छन् ।

    समाजसेवा आफ्नो मूल उद्देश्य रहेको बताउने नेता साहले नि:स्वार्थ सेवा, नागरिकसँगको निकटता, यस क्षेत्रको समग्र विकास, निरन्तर सम्पर्कमा रहेर जनताको सुझाव अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    साहले आफ्नो प्रतिबद्धतापत्रमा भनेका छन्, ‘हामीसँग सबै विषय र क्षेत्रका विज्ञहरूको टोली छ । र, सर्लाही ३ को विकासका लागि हामीले स्पष्ट योजना कोरेका छौं ।’

    कृषकहरूलाई आवश्यक पर्ने बिउ, बिजनको उचित व्यवस्थापन गर्ने बताउँदै नेता साहले घर–घरमै उत्पादन गरिने कम्पोस्ट मल उत्पादनका लागि कृषि ज्ञान केन्द्रका प्राविधिकको सहयोगले विधि सिकाइने बताएका छन् । उनले किसानहरूलाई मलको अभाव हुन नदिने बाचा गरेका छन् ।

    कृषकहरूलाई अत्याधुनिक कृषि औजारजन्य उपकरण सहुलियतमा उपलब्ध हुने प्रबन्ध मिलाउने प्रतिबद्धता पनि नेता साहको छ । २४ घण्टा सबै प्रकारका अपरेशन सुविधा भएको, भरपर्दो उपचार सुनिश्चित भएको, सुरक्षित सुत्केरी सेवा प्रदान गरिने, ओपीडी, डायग्नोस्टिक सेवा, आइसीयू, अपरेशन थियटर, वर्थिङ तथा म्याट्रिनिटी सेवा, सर्पदंशको उपचार सुविधासहितको अस्पताल बनाउने पनि बताएका छन् ।

    सर्लाही जिल्ला पर्यटकीय सम्भावना बोकेको क्षेत्र बताउँदै साहले यहाँका परम्परागत नदी नाला, ताल, पोखरी र पुरातात्विक महत्त्वका मन्दिरहरूलाई अझ व्यवस्थित बनाउँदै यसको व्यापक प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् ।

    सर्लाहीमा सुविधा सम्पन्न खेल मैदान निर्माणलगायत खेलकुद क्षेत्रको विकासका लागि द्रूत गतिमा काम अझै अगाडि बढाउने नेता साहको भनाइ छ ।

    ‘सर्लाहीमा राष्ट्रको नाम राख्ने खेलाडी रहेको इतिहास छ । आगामी दिनमा पनि सर्लाहीले दक्ष खेलाडी उत्पादन गर्नुपर्छ । यसका लागि विभिन्न क्लबहरूलाई खेलकुद सामग्रीहरू उपलब्ध गराएका छौं । उचित खेल मैदान र थप खेल सामग्रीहरूको व्यवस्था गरिने छ । अनुशासन, आर्थिक विकास, सुशासन, शान्ति तथा समृद्धि र एकताको लागि खेलकुद क्षेत्रको विकास हुनै पर्छ । खेल क्षेत्रको विकासका लागि प्राथमिकता निर्धारण गरेर कार्यक्रमहरू ल्याइने छ,’ साहले प्रतिबद्धतापत्रमा भनेका छन् ।

    विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनमा प्रोत्साहन गरेर आवश्यक ठाउँमा रोजगारीका लागि बन्दोबस्त गर्ने बताउँदै उनले स्थानीयस्तरमै कृषि, पर्यटनलगायतका क्षेत्रमा रोजगारीको वातावरण सिर्जना गरी वैदेशिक रोजगारीमा जान नपर्ने वातावरण बनाउने बताए । नेता साहले स्कुल तथा कलेजमा प्राविधिक शिक्षालाई जोड दिने बताए ।

    प्रतिबद्धतापत्रको पूर्णपाठ 

    Narendra-Sah-Pratibaddhaa

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट