एलडिसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री शुक्रबार कतार जाँदै


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन १८, २०७९

  • अति कम विकसित मुलुकहरु (एलडिसी) को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार कतारको दोहा प्रस्थान गर्नुहुने भएको छ । यही फागुन २१ देखि २५ गतेसम्म आयोजित सो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    नेपालले यसवर्ष अति कम विकसित देशहरु (एलडिसी) को अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ । यसअघि मालवीले अध्यक्षता ग्रहण गरेको थियो । उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, सांसद जीतेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारस्थित नेपाली राजदूतलगायत हुनुहुन्छ ।

    उपप्रधानमन्त्री श्रेष्ठले भ्रमणका क्रममा एलडिसी सम्मेलनका प्लेनरी सेसनमा भाग लिनुहुनेछ । त्यस्तै विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको परारष्ट्र मन्त्रालयले जनाएको छ । साथै, दोहामा रहेका नेपालीसँग मन्त्री श्रेष्ठले भेट तथा छलफल गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठ यही फागुन २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार