नवनिर्वाचित राष्ट्रपतिको गृह जिल्लामा दीप प्रज्ज्वलन


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन २५, २०७९

  • नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा उहाँको गृह जिल्ला तनहुँको दमौलीमा दीप प्रज्ज्वलन गरिएको छ । व्यास नगरपालिका–३ अनसन चौतारीमा आज साँझ दीप प्रज्ज्वलन गरिएको हो ।

    नेपाल विद्यार्थी सङ्घ भानुभक्त क्याम्पस एकाइको आयोजनामा दीप प्रज्ज्वलन गरिएको हो । दीप प्रज्ज्वलनमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेललगायत नेता तथा कार्यकर्ता सहभागी हुनुहुन्थ्यो ।

    कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख न्यौपानेले लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पौडेल राष्ट्रपतिमा निर्वाचित हुँदा तनहुँको गौरव बढेको बताउनुभयो । तनहुँको विकास, लोकतन्त्र संरक्षण, अधिनायकवादको अन्त्यका लागि पौडेलले खेलेको भूमिका अतुलनीय रहेको भन्दै न्यौपानेले बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार