आगामी शुक्रबारदेखि रोटरी क्लबको राष्ट्रिय सम्मेलन राजधानीमा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, चैत्र १, २०७९

  • रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ ले आगामी शुक्रबार र शनिबार राजधानीमा राष्ट्रिय सम्मेलन गर्नेभएको छ ।

    सम्मेलनमा ७२ जिल्लाका एक सय ५५ क्लबका प्रतिनिधि सहभागी हुने डिस्ट्रिक्ट गभर्नर जीतेन्द्रराज राजभण्डारीले राससलाई जानकारी दिनुभयो । स्वार्थभन्दा माथि उठेर समुदायका सेवा गर्ने उद्देश्यले एक सय ८८ वर्षअघि रोटरी क्लबको सुरुआत् भएको थियो । क्लबले विपन्न वर्गको समुदायमा शिक्षा, स्वास्थ्य र खानेपानीलगायत क्षेत्रमा काम गर्दै आएको छ ।

    रोटरी क्लबले विद्यालयमा बालिकामैत्री शौचालय निर्माणलाई प्राथमिकता दिएको छ । पोलियो उन्मूलनमा सरकारलाई विशेष सहयोग गरेको क्लबले स्वास्थ्य संस्थामा सा–साना उपकरण दिने गरेको छ ।

    क्लबले वातावरण संरक्षणका लागि वृक्षरोपण अभियानलाई प्राथमिकतामा राखेको छ । सौराहालाई प्लाष्टिकमुक्त क्षेत्रका रुपमा विकास गर्न क्लबले विशेष अभियान चलाएको छ । व्यक्तिले जे कमाउँछ त्यही योगदान गर्ने रोटरीको लक्ष्य छ । रोटरीमा लाग्नेले जे कमाएका हुन्छन्, समाजलाई त्यही दिने गरेको सम्मेलनका प्रेस संयोजक सुरेश आचार्य बताउनुहुन्छ ।

    धादिङको ज्वालामुखी गाउँपालिकाको दुर्गम बस्तीका मानिसलाई खानेपानी लिन चार घण्टा लाग्ने गरेकामा क्लबको सहयोगमा नजिकै धारा बनाइएको छ । यसबाट एक हजार १०० भन्दा बढी जनसङ्ख्या लाभान्वित भएको क्लबले जनाएको छ ।

    महिला सशक्तीकरणका लागि शिक्षालाई नै पहिलो शर्तका रुपमा लिएर बालिकालाई शिक्षा दिन प्रेरित गर्ने अभियान पनि क्लबले चलाएको छ । यो अभियान अन्तर्गत एउटा क्लबले विपन्न वर्गका १० बालिकालाई अभिवाकत्व ग्रहण गरी शिक्षा दिने नीति बनाइएको छ । रोटरी अभियानमा लागेका सदस्यले सहयोग जम्मा गरेपछि त्यसमा थप सहयोग अन्तर्राष्ट्रियस्तरका रोटरी अभियानकर्मीबाट आउने गरेको छ ।

    नेपालीले रू एक सय जम्मा गरे अन्तर्राष्ट्रियस्तरका रोटरी अभियानकर्मीबाट रू आठ सय सहयोग आउने गरेको प्रेस संयोजक आचार्यले जानकारी दिनुभयो । रोटरी क्लबमा समाज सेवा गर्न चाहनेले कार्यसमितिमा एक वर्षमात्र बस्ने व्यवस्था छ । उक्त वर्षभर विभिन्न ठाउँमा हुने कार्यक्रममा जाँदा । आउदाको बस भाडा, बस्ने खाने खर्च क्लबका सदस्यले आफैँ व्यहोर्नुपर्ने नियम बनाइएको छ । समुदायमा गरिने सहयोगबाट त्यो व्यहोरिँदैन ।

    शुक्रबारदेखि राजधानीमा हुने दुई दिने सम्मेलनमा जनसरोकारका विभिन्न विषयमा बहस गराउने तयारी पनि क्लबले गरेको छ । बहसमा सम्बन्धित क्षेत्रका विज्ञले मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।

    शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, विकास निर्माण, शान्तिलगायत विषयमा छलफल गरिनेछ । करिब एक हजार पाँच जना रोटरी अभियानकर्मीको सहभागिता रहने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक पृथ्वीराज वैद्यले जानकारी दिनुभयो । क्लबले थापाथलीमा भवन बनाउन सात जना पूर्वगभर्नरको समिति गठन गरेको जनाएको छ ।

    रोटरीको हाल नेपालमा एउटैमात्र डिस्ट्रिक्ट क्लब छ । यसअन्तर्गत एक सय ५५ क्लब र छ हजारभन्दा बढी सदस्य छन् । यो डिस्ट्रिक्ट क्लब पनि सन् २००८ मा गठन भएको हो । रोटरी अभियानकर्मीका लागि वर्ष दिनमा एकपटक हुने सम्मेलन भेटघाट एवं अनुभव आदानप्रदान गर्न महत्वपूर्ण मञ्च मानिन्छ ।

    सम्मेलनमा रोटरीको अन्तर्राष्ट्रिय फाउन्डेसनका प्रतिनिधिको पनि सहभागिता रहने छ । प्रत्येक वर्ष परिवर्तन हुने कार्यसमितिले आफ्नो कार्यकालमा एकपटक राष्ट्रिय सम्मेलन आयोजना गर्ने गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार