नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य : ‘नेपाली पात्रो’ पञ्चाङ्ग अब अझै शुद्ध र स्पष्ट


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र ९, २०७९

  • काठमाडौँ । नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्गमार्फत सेवा प्रदान गर्दै आएको नेपालको पहिलो आधिकारिक सर्वाधिक विषयले सुसज्जित राष्ट्रिय पञ्चाङ्गबीच सहकार्यका लागि सम्झौता भएको छ ।

    तोयनाथ पञ्चाङ्ग विगत १ सय ३५ वर्षदेखि नेपालमा निरन्तर प्रकाशित हुँदै आएको सर्वाधिक विश्वासिलो पञ्चाङ्ग तथा सजिलो क्यालेण्डर हो । प्रविधिको विकाससँगै एण्ड्रोइड तथा आइफोन जस्ता स्मार्टफोनमा नेपाली प्रयोगकर्ताहरूले खोज्ने प्रमाणित पञ्चाङ्ग साइत, लग्न, चाडबाड तथा तिथी मितीको विश्वस्नीय छापा संस्करण तोयनाथ पञ्चाङ्ग र नेपालीद्वारा नेपालीकै लागि तयार पारिएको मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’ बीच सहकार्य भएको हो ।

    नेपाली पात्रोका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार देवकोटाले झण्डै डेढ शताब्दीदेखि निरन्तर वैदिक सनातन पञ्चाङ्गबारे ज्ञान र जानकारी समेटी नेपाली समाजलाई हाम्रो जरोकिलोको महत्व बुझाउन सफल तोयनाथ पञ्चाङ्गसँग विश्वभर छरिएर रहेका नेपाली सनातन पुस्तालाई ‘नेपाली पात्रो’ मार्फत् जोड्न पाएकोमा आफू उत्साहित भएको बताए ।

    ‘पुरानो पुस्ताको सटिक पञ्चाङ्ग गणितसँग आधूनिक पुस्ता जोडिन पाउनु आफैमा अद्भूत अनुभव हो । शताब्दीअघि उहाहरुसँग उपलब्ध साधन, स्रोत तथा अध्ययनबाट हरेक दिनको सूर्योदय र सूर्यास्त होस् या यो दिन यति गते, यति बजेबाट सूर्य अथवा चन्द्र ग्रहण यो स्थानबाट देखिनेछ भन्ने पूर्वानुमानको सटिक नतिजा निकाल्ने हाम्रो आफ्नै मौलिक वैदिक सनातन विज्ञान कति अद्भूत छ भन्ने पुष्टि पनि गर्छ ।’ देवकोटाले भने, ‘यो सहकार्यले हाम्रो प्रयोगकर्तालाई क्यालेण्डरमा उपलब्ध शुद्ध र आधिकारिक जानकारीले लाभ दिनेछ ।’ तोयनाथ पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले यस सहकार्यलाई नयाँ र पुरानो पुस्ताबीचको ज्ञान आदान–प्रदानको बहाना मिलेको उनले बताए ।

    नव वर्ष २०८० सालको क्यालेण्डर सहितको तोयनाथ पञ्चाङ्ग समेटिएको अपडेट ल्याउनका लागि अहिले नेपाली पात्रोको प्राविधिक टोलीले कार्य गरिरहेको छ । यही चैत्र महिनाभित्र तोयनाथ पञ्चाङ्ग समेटिएको नेपाली पात्रोको अपडेट सार्वजनिक गर्ने तयारी भईहरेको छ ।

    नयाँ पुस्तालाई क्यालेण्डर र पञ्चाङ्गको डिजिटल स्रोतका लागि सर्वाधिक लोकप्रिय मोबाइल एप ‘नेपाली पात्रो’ सँग आधिकारिक डिजिटल पात्रोको रुपमा सहकार्य गरेको प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार देवकोटाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट