
काठमाडौं , फागुन २० । काठमाडौँ – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि लायक नभएको जिकिर गरेका छन्।
उनले सोमबार एक ट्विटमार्फत आफू नोबेल शान्ति पुरस्कारको लायक नभएको बताएका हुन्। ‘कश्मिर जनताको इच्छा अनुसार कश्मिर विवादको शान्तिपूर्ण समाधान गरेर त्यस क्षेत्रको शान्ति र मानव विकासको मार्ग प्रसस्त गर्ने व्यक्ति यो पुरस्कारको असली हकदार हो,’ उनले उल्लेख गरेका छन्।
केही साताअघि जम्मु कश्मिरको पुलवामा क्षेत्रमा त्यहाँका लडाकु समूहले गरेको विस्फोटनमा ४६ जना भारतीय सुरक्षाकर्मी मारिएपछि पाकिस्तानको सीमावर्ती क्षेत्रमा गत मंगलबार भारतीय वायु सेनाले सैनिक कारबाही गरेको थियो।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने राष्ट्रिय टेलिभिजन र संयुक्त संसदमा सम्बोधन मार्फत भारतसँग युद्ध समस्याको समाधान नभएको भन्दै शान्तिपूर्ण वार्ताको माध्यमबाट समाधान खोज्नु नै सबैको हितमा रहेको बताएका थिए। बुधबार पाकिस्तानी सैनिकले आफ्नो सीमाक्षेत्रमा आएको भारतीय सैनिक विमान खसाल्दै बन्दी बनाएका भारतीय वायु सेना कमाण्डर अभिनंदन बर्दमानलाई ६० घण्टा नियन्त्रणमा राखी सकुशल भारतीय अधिकारीलाई जिम्मा लगाइएपछि इमरान खानको सर्वत्र प्रशंसा भएको थियो। इमरान खानको पक्षमा सामाजिक सञ्जाल ट्विटरमार्फत नोबेल शान्ति पुरस्कारको हकदारको रुपमा चित्रित गर्दै ट्रेन्डिङ सुरु भएको थियो।
यद्यपि इमरान खानले आफू उक्त पुरस्कारको लायक नभएको उल्लेख गरेर स्पष्टोक्ति दिएका छन्।