धान दिवसः जलरङमा ‘किसान’ कार्यशाला र प्रदर्शनी सुरु


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, असार १६, २०८१

  • काठमाडौँ, १५ असारः धान दिवसका अवसरमा कृषकहरूमा समर्पित ‘किसान’ शीर्षकमा काठमाडौँमा आजदेखि जलरङ कला कार्यशाला तथा कला प्रदर्शनी सुर भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको सहआयोजनामा सुरु भएको कला प्रदर्शनी एक सातासम्म चल्ने छ ।

    प्रतिष्ठानको कार्यालय नक्सालमा सुरु प्रदर्शनीमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘किसान’ जलरङ कार्यशाला तथा प्रदर्शनीको आजको समयमा विशेष महत्त्व रहेको बताउनुभयो । उहाँले लक्ष्यप्राप्तिका लागि साधक, साधना र साध्यको गठजोड हुनुपर्ने धारणा राख्नुभयो । किसानप्रति सम्मान, कृषि पेसाप्रति उत्साह, जागरण ल्याउनुपर्ने वर्तमान परिस्थितिअनुरूप नै प्रतिष्ठानले असार १५ अर्थात् धान दिवसका दिनलाई सिर्जनासँग जोड्न ‘किसान’ कला कार्यशाला तथा प्रदर्शनी गरेको हो ।

    आजका कलाकारले श्रम, श्रमिकको सम्मान, श्रम संस्कृतिको निर्माण, किसानका दुःख, पीडा र समस्या, किसानको दिनचर्या, जीवनशैली, कृषिमा आधुनिकीकरण, कृषि पर्यावरणजस्ता विषय र मुद्दालाई पनि चित्रण गर्नुपर्नेमा कुलपति हार्तम्छालीको जोड थियो । सामाजिक रूपान्तरण, श्रम संस्कृतिको निर्माण, श्रमिक र श्रमप्रति पारस्परिक सद्भावका लागि जलरङमा मात्र सीमित नभई बहुविधालाई स्वीकार गरी असार १५ लाई कृषिमा जागरण र किसानप्रति सम्मान गर्ने काममा ललितकलाकर्मी रङ र रेखाका माध्यमबाट लाग्नुपर्नेमा उहाँको जोड दिनुभयो । प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले किसानका विषयमा केन्द्रित भई ‘किसान’ जलरङ कला कार्यशाला तथा प्रदर्शनी हुनु राम्रो रहेको बताउनुभयो । “किसान वर्ग देशका अभिभावक हुन्, उनीहरुकै कारणले हामी बाँचेका छौँ ।

    उनीहरुप्रति सम्मान र श्रम संस्कृतिको निर्माण गर्न प्रतिष्ठानले गरेको यस किसिमको कार्यक्रमले किसानमा पक्कै आशा सञ्चार गर्नेछ”, उहाँले भन्नुभयो । अग्रज कलाकार मदन चित्रकारले जलरङकर्मीका लागि यो कार्यक्रम विशेष महत्त्वको रहेको र यसले जलरङकर्मीहरूलाई एकै ठाउँमा जमघट गराएको बताउनुभयो । उहाँले प्रतिष्ठानले जलरङकर्मी र किसानप्रति सम्मान गर्दै रचनात्मक कार्यक्रम गरेको र युवा वर्गमा जलरङप्रतिको उत्साह बढेको देख्दा खुसी लागेको बताउनुभयो ।

    प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले ‘किसान’ जलरङ कार्यशाला तथा प्रदर्शनी गरी सम्पूर्ण श्रमजीवी किसानप्रति सम्मानभाव व्यक्त गर्न खोजिएको बताउनुभयो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेपालमा ६५ प्रतिशत जनता कृषिकर्ममा आबद्ध रहेको र तिनै श्रमजीवी किसानवर्गप्रति समर्पित हुँदै कार्यशाला तथा प्रदर्शनी गरिएको बताउनुभयो । प्रदर्शनीमा ६५ जनाभन्दा बढी कलाकारका ८० कलाकृति राखिएको र प्रदर्शनी २१ गतेसम्म चल्नेछ ।

    प्रदर्शनीका संयोजक तथा सहआयोजक समाजका अध्यक्ष एनबी गुरुङले प्रतिष्ठानसँगको सहकार्यमा पहिलोपटक जलरङ कला कार्यशाला तथा प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताउँदै यसबाट जलरङकर्मी र किसानप्रति सम्मानभाव व्यक्त हुने बताउनुभयो । कार्यक्रममा अग्रज कलाकार राधेश्याम मुल्मी, रतनकुमार राई, हरेराम जोजु, प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू प्रदीप अधिकारी र अरुणा हिङमाङ, सोफज नेपालका अध्यक्ष केशवराज खनाल, दीपेन्द्रमान बनेपाली, महेश आचार्य, डिल्लीराज घिमिरे, दिवेश प्रधान, डिबी राईलगायत ३० जना कलाकार प्रत्यक्ष कला कार्यशालामा समेत सहभागि हुनुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट