साट्टा अवार्ड नेपालमा हुँदै


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, असार २५, २०८१

  • काठमाडौँ, २४ असार : साउथ एसियन ट्राभल अवार्ड्स (साट्टा) को आठौँ संस्करण नेपालमा आयोजना हुने भएको छ । आगामी असोज ३ र ४ गते काठमाडौँमा हुने उक्त अवार्ड समारोहमा छ देशका दुई सय ५० भन्दा बढी होटल, ट्राभल, एयरलाइन्सका प्रतिनिधि तथा सञ्चारमाध्यमको सहभागिता रहने आयोजकले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सन् २०२४ का लागि अवार्डसम्बन्धी कार्यक्रमको सूची सार्वजनिक गर्दै आयोजकले विभिन्न ४४ विधामा अवार्ड दिइने जनाएको छ ।

    कार्यक्रमको होटल पार्टनरका रूपमा द मल्ल होटल र एलफ्ट होटल रहेका छन् । साट्टाले साउथ एसिया क्षेत्रभरि आतिथ्य क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्नेहरूलाई सम्मान गर्दै आएको छ । नेपाल पर्यटन बोर्ड र होटल सङ्घ नेपालको सहयोगमा हुने अवार्ड कार्यक्रममा व्यावसायिक साझेदारबीच व्यापार आदान–प्रदानसमेत आयोजकले जनाएको छ ।

    “यो कार्यक्रमले दक्षिण एसियाली आतिथ्य क्षेत्रमा भएका उत्कृष्ट उपलब्धिहरूलाई मान्यता दिने र पुरस्कृत गर्नेछ,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ । पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नेपालको पर्यटन प्रवर्द्धनका निम्ति साट्टा अवार्डले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

    बोर्डका कार्यवाहक कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले दक्षिण एसियास्तरको अवार्ड कार्यक्रमले पर्यटन नेपालमा हुनु सुखद भएको र यसले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले मुलुकको पर्यटन पुरानै लयमा फर्किएको र पर्यटकीय गतिविधि बढिरहेको सन्दर्भमा अवार्ड कार्यक्रम महत्वपूणृ हुने विश्वास व्यक्त गर्नुभयो ।

    अवार्डको जुरी सदस्यमा नेपालका तर्फबाट होटल सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिइओ) टेकबहादुर महत रहनुभएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट