आमिर खानले नयाँ फिल्मका लागि २० किलो तौल घटाउने


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र १, २०७५

  • काठमाडौं , चैत्र १ ।  काठमाडौँ –बलिउड अभिनेता आमिर खानले आफ्नो ५४ औं जन्मोत्सवको अवसरमा नयाँ फिल्म घोषणा गरेका छन्- ‘लालसिंह चड्डा’। सन् १९९४ को ओस्कार विजेता हलिउड फिल्म ‘फरेस्ट गम्प’ मा आधारित यो फिल्म अद्वैत चन्दनले निर्देशन गर्नेछन्। अद्वैतले यसअघि आमिरद्वारै निर्मित तथा अभिनित ‘सिक्रेट सुपरस्टार’ निर्देशन गरेका थिए।

    पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ बक्स अफिसमा फ्लप भएपछि आफ्ना फ्यानहरूसँग सार्वजनिक रूपमै माफी मागेका आमिरले बिहीबार आफ्नो जन्मदिनको अवसरमा यो उपहार पेश गरेका हुन्।

    आमिरले नै निर्माण गर्न यो फिल्म यसै वर्ष अक्टोबरमा सुटिङ सुरू हुनेछ। सुटिङ किन ढिला सुरू हुन लागेको भन्ने प्रश्नमा आमिरले फिल्मका लागि निकै मिहिनेत गर्नुपर्ने बताएका छन्।

    उनले फिल्मकै लागि भनेर २० किलो तौल घटाउनुपर्ने बताएका छन्।

    फिल्म अहिले बन्ने भनिए पनि यसको सुरूआत एक दशक अघि नै भएको थियो। ‘रंग दे बसन्ती’ को सुटिङ क्रममा सह-अभिनेता अतुल कुलकर्णीले पहिलोचोटि यो विषय लिएर आएको आमिरले बताएका छन्। फिल्मको नाम पनि त्यहीबेला जुरेको थियो। त्यसको केही वर्षपछि उनै अतुलले पूरै स्क्रिप्ट लेखेर आमिरलाई दिए। अरू काममा व्यस्त आमिरले स्क्रिप्ट पढ्न भ्याएनन्। झण्डै साढे दुई वर्ष त्यो स्क्रिप्ट आमिरको टेबलमै थन्कियो।

    ‘मैले भविष्यमा काम गर्न सक्ने सम्भावना भएका स्क्रिप्ट सधैं आसपास देखिने ठाउँमा नै राख्छु,’ उनले भने, ‘अतुलले ल्याएको त्यो स्क्रिप्ट साढे दुई वर्षपछि पढ्दा पहिलो पानाबाटै म त्यसमा तानिएँ। हलिउड फिल्ममा आधारित भए पनि उनले यसलाई पूर्णरूपमा भारतीयकरण गरेका छन्।’

    हलिउड फिल्म ‘फरेस्ट गम्प’ मा अभिनेता टम ह्यांक्सको मूख्य भूमिका छ। सन् १९९४ मा रिलिज भएको यो फिल्मले ६ वटा ‍ओस्कार जितेको थियो। यो फिल्म सन् १९८६ मा विन्सटन ग्रुमको उपन्यासमाथि बनेको हो। फिल्म फरेस्ट गम्प नामका एक पात्रको जीवन वरिपरि घुमिरहन्छ। फरेस्टमार्फत् फिल्मले बीसौं शताब्दीको अमेरिकी जीवनशैली देखाएको छ।

    ‘लालसिंह चड्डा’ बनाउन आमिरले पारामाउन्ड पिक्चर्स (फरेस्ट गम्पको निर्माता कम्पनी) सँग स्वीकृति लिएको बताएका छन्। आमिरले नै निर्माण गर्न लागेको यो फिल्मको सुटिङ पन्जाब र उत्तर भारतमा हुनेछ। बलिउड ‘पर्फेक्सनिस्ट’ भनेर चिनिने आमिर आफ्नो भूमिकामा वास्तविकता ल्याउन शरीरको तौल बढाउन-घटाउन माहिर छन्।

    ‘पिके’ मा एलियनको भूमिका खेल्न उनले आफ्नो तौल घटाएका थिए भने ‘दंगल’ का लागि २५ किलो बढाएका थिए। उनी हाल करिब ८० किलो छन्। ‘लालसिंह चड्डा’ का निम्ति तौल कम गर्दा उनी करिब ६० किलो हुनेछन्। ‘थ्री इडियट्स’ मा उनी करिब ७० किलो थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार