गणतन्त्रमाथि खतराको घण्टी बज्न सक्छ : प्रचण्ड


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, बैशाख २४, २०७६

  • काठमाडौं, २४ वैशाख ।  नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक दलहरुले अब आफ्नो जिम्मेवारी पूरा भईसक्यो भनेर निषेधात्मक रुपले अघि बढ्ने हो भने त्यसले सुखद् परिणाम नल्याउने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राख्ने क्रममा अध्यक्ष प्रचण्डले अब पनि हामीले पुरानै सोच र शैलीलाई परिवर्तन नगर्ने हो भने त्यसले सिंगो परिवर्तनमाथि खतराको घण्टी बज्ने सक्ने भन्दै सबैलाई सचेत गराएका छन् ।

    अध्यक्ष प्रचण्डले परिवर्तनलाई संस्थागत गर्ने क्रममा जनतालाई परिवर्तनको महसुस गराउन सकिएन भने जनतामा फेरि पुरानै सोच र शैली हाबी हुने खतरा रहेको भन्दै यसमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले समेत सचेत भएर हिँड्नु पर्ने धारणा राखे । अहिले परिवर्तनलाई संस्थागत गर्न सहज नभएको भन्दै उनले त्यसमा धेरै जटिलताहरुको सरकारले मुकाविला गरिरहेको स्मरण समेत गरे । जनताहरु धैर्यशील रहेकोले सरकार र जनप्रतिनिधिहरु काम गरिरहेका छन् भनेर कुरेर बसेको भन्दै परिणाम दिन सकिएन भने जनतामा पुरानै शासनप्रतिको मोह बढ्न सक्ने चिन्ता प्रचण्डको छ ।

    ‘अहिले राज्यका अवयवहरुले नै राज्य संयन्त्रलाई भुत्ते बनाउन खोजेको त होईन ? भन्ने चिन्ता लागेको छ ।’ उनले भने ‘सहज ढंगले सबै कुराहरु गएको मैले देखेको छैन । त्यसमा जटिलता नै जटिलताहरु देखेको छु ।’ अहिलेको राज्यको व्यवहारले परिवर्तनले जनजीवनमा राम्रो प्रभाव पार्छ भन्नेतिर जनतालाई विश्वास बढाउँदै लगेको छ या त घटाउँदै लगेको छ ? त्यसबारे विश्लेषण गर्नु पर्ने धारणा समेत उनले राखेका छन् ।

    ठूलो त्याग र तपस्याबाट आएको परिवर्तनलाई जोगाई राख्नको लागि फेरि हिजोको जस्तै त्याग र तपस्या गर्ने संकल्प नेतृत्वले नगर्ने हो भने खतराको घण्टी बज्न सक्ने चिन्ता प्रचण्डले राखे । उनले यस्तो समस्या निम्तन नदिन सम्पूर्ण दलहरु एकीकृत हुनुपर्ने धारणा समेत राखे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार